इरानी विद्यालयमा मारिएका १६५ बालिकाहरूको सार्वजनिक अन्त्येष्टि
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २० बुधबार
2.2k
Shares
काठमाडौँ । इरानी सहर मिनाबमा रहेको एक बालिका विद्यालयमा अमेरिकी र इजरायली आक्रमणमा मारिएका १६५ बालिकाहरूको सार्वजनिक अन्त्येष्टि भएको छ । मिसाइल आक्रमणमा परी एकैठाउँमा १६५ बालिकाहरूको मृत्यु भएको हो ।
उक्त सार्वजनिक अन्त्येष्टिमा हजारौँ मानिसहरू भेला भए । बुधबार इरानमाथि अमेरिका–इजरायल आक्रमणको पाँचौं दिन हो। इजरायली र अमेरिकी सेनाले आक्रमणलाई निरन्तरता दिँदै गएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्तामासमेत नबस्ने भन्दै इरानी सुरक्षा प्रणाली ध्वस्त पारेरै छाड्ने प्रतिज्ञा लिएको सामाजिक सञ्जालमार्फत जनाएका छन् ।
यसअघि दुवै देशले मंगलबार प्रमुख इरानी लक्ष्यहरूमा मिसाइल प्रहार गरे। इरानले पनि इजरायलको बदला लिँदै खाडी देशहरूमा रहेका अमेरिकी सैन्य अड्डाहरू ध्वस्त पारेको दाबी गरेको छ ।
शनिबारदेखि शुरू भएको यस युद्धमा इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनी मारिएका छन् । अमेरिका र इजरायलले तीन दिनमा २,००० भन्दा बढी बम खसालेका छन्। यसले इरानमा १७६ बालबालिका सहित ७८७ जनाको मृत्यु भएको छ।