दिउँसो १ बजेसम्म ४४ लाखभन्दा बढी मतदान, कर्णालीमा सबैभन्दा धेरै उत्साह
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २१ बिहिबार
881
Shares
काठमाडौँ । निर्वाचन आयोगले उपलब्ध गराएको पछिल्लो तथ्याङ्कअनुसार जारी प्रतिनिधिसभा निर्वाचनअन्तर्गत दिउँसो १ बजेसम्म देशभरका मतदान केन्द्रहरूमा ४४ लाख ५५ हजारभन्दा बढी मत खसेको छ। आयोगका अनुसार देशभर रहेका कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदातामध्ये करिब २४ प्रतिशतले आफ्नो मताधिकार प्रयोग गरेका हुन्। मतदान आज बिहान ७ बजेदेखि सुरु भई देशभर शान्तिपूर्ण रूपमा जारी रहेको आयोगले जनाएको छ।
प्रदेशगत विवरणअनुसार कोशी प्रदेशमा करिब २३ प्रतिशत, मधेश प्रदेशमा २० प्रतिशत र बागमती प्रदेशमा १९ प्रतिशत मत खसेको छ। त्यस्तै गण्डकी प्रदेशमा २१ प्रतिशत, लुम्बिनी प्रदेशमा २६ प्रतिशत र कर्णाली प्रदेशमा सबैभन्दा बढी करिब ३१ प्रतिशत मत खसेको आयोगको तथ्याङ्कमा उल्लेख छ। काठमाडौँ उपत्यकाभित्रका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरमा भने करिब ३६ प्रतिशत मतदान भएको छ जहाँ मतदाताहरू बिहानैदेखि लामबद्ध भएर मतदान गरिरहेका छन्।
आयोगले हालसम्म देशभरको मतदान कार्य शान्तिपूर्ण रूपमा भइरहेको र कुनै पनि मुख्य अप्रिय घटना नघटेको जानकारी दिएको छ। निर्वाचन आयोगले बाँकी रहेका सबै मतदाताहरूलाई पनि बेलुकी ५ बजेसम्म निर्धक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गरेको छ।