निर्वाचनको दिन नियम उल्लंघन गर्ने नौ सय सवारीसाधन नियन्त्रणमा
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २१ बिहिबार
723
Shares
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका दिन काठमाडौँ उपत्यकामा अनुमति नलिई सञ्चालन गरिएका नौ सय सवारीसाधन सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्। निर्वाचनको सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै निर्वाचन आयोगको अनुमति (पास) बिना चलाइएका यी सवारीसाधनलाई उपत्यकाका विभिन्न स्थानबाट समातिएको प्रहरीले जनाएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले नेपाल न्यूज बैंकसँग कुरा गर्दै पास बिना चलाइएका सवारीसाधन नियन्त्रणमा लिइएको जानकारी दिए। उनका अनुसार नियन्त्रणमा लिइएका अधिकांश सवारीसाधन उपत्यकाको ‘कोर’ (भित्री) क्षेत्रमा सञ्चालन भइरहेका थिए।
निर्वाचनका दिन अत्यावश्यक सेवा बाहेक अन्य सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ। सो नियम उल्लंघन गर्दै चलाइएका मोटरसाइकल, स्कुटर तथा अन्य चारपाङ्ग्रे सवारीसाधनलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले बताएको छ। नियन्त्रणमा लिइएका सवारीसाधनलाई साँझ मतदानको समय सकिएपछि मात्र प्रक्रिया पुर्याएर छोडिने ट्राफिक प्रहरीले जनाएको छ।