काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
६० देखि ६५ प्रतिशत मत खसेको अनुमान
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २१ बिहिबार
700
Shares
काठमाडौँ । प्रतिनिधिसभा सदस्यका लागि आज भएको निर्वाचनमा काठमाडौँ जिल्लामा ६० देखि ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ। काठमाडौँका मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले अपराह्न ५:०० बजेसम्म सबै केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भइसकेको जानकारी दिए।
उनका अनुसार खसेको मतको यकिन विवरण आउन केही समय लाग्ने भए पनि प्रारम्भिक ट्रेन्डका आधारमा ६० देखि ६५ प्रतिशत मतदान भएको देखिएको छ। निर्वाचन आयोगले ५:०० बजेभित्र मतदान केन्द्रमा प्रवेश गरिसकेका मतदाताहरूलाई मतदानको व्यवस्था मिलाएकाले केही केन्द्रहरूमा ढिलासम्म मतदान चलेको थियो।
मुख्य निर्वाचन अधिकृत खड्काले अबको करिब दुई घण्टाभित्र काठमाडौँका सबै मतदान केन्द्रहरूबाट मतपेटिकाहरू सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा सङ्कलन गरिने बताए। मतपेटिकाहरू सङ्कलन भइसकेपछि दलीय प्रतिनिधिहरूको सहमतिमा आजै रातिदेखि मतगणना प्रक्रिया प्रारम्भ गरिने तयारी गरिएको छ। काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।