कञ्चनपुर १ मा विना मगर र तारा लामालाई उछिन्दै जनकसिंह धामी अगाडि
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २२ शुक्रबार
1k
Shares
कञ्चनपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनाअनुसार कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जनकसिंह धामीले आफ्नो अग्रतालाई निकै बलियो बनाएका छन्। निर्वाचन अधिकृत दामोदर घिमिरेका अनुसार हालसम्म १४ हजार ७३० मतगणना हुँदा रास्वपाका धामी ५ हजार ८९१ मतका साथ अग्रस्थानमा छन्। उनलाई नेकपा (एमाले) का उम्मेदवार तारालामा तामाङले २ हजार ६१८ मतका साथ पछ्याइरहेका छन् भने पूर्वमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार विना मगर २ हजार ३०४ मतसहित तेस्रो स्थानमा छिन्।
यसैगरी नेपाली कांग्रेसका उम्मेदवार गोपीप्रसाद उपाध्यायले १ हजार ५४५ मत प्राप्त गरेका छन्। अन्य प्रतिस्पर्धीहरूमध्ये उज्यालो नेपाल पार्टीका माइकल तामाङले ६२४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका दिल्लीबहादुर शाहीले ४३० मत पाएका छन्। हालसम्म गणना गरिएको मतमध्ये १३ हजार ७९१ मत सदर र ९३९ मत बदर भएको जनाइएको छ। यस निर्वाचन क्षेत्रमा ४ स्वतन्त्रसहित १९ जना उम्मेदवार चुनावी मैदानमा छन्। कुल १ लाख १ हजार ७२४ मतदाता रहेको यस क्षेत्रमा ६१ हजार ७४ मत खसेको थियो। अहिलेसम्म पुनर्वास नगरपालिकाको वडा नम्बर १ देखि ८ सम्मको गणना सम्पन्न भइसकेको छ भने अन्य पालिकाको मतगणना कार्य तीव्र गतिमा अगाडि बढाइएको छ।