काठमाडौँ ५ मा सस्मित पोखरेल निर्वाचित, कांग्रेस र एमालेका 'हेभीवेट' नेताहरू स्तब्ध
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २३ शनिबार
821
Shares
काठमाडौँ। काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सस्मित पोखरेल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। बिहीबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम अनुसार पोखरेलले भारी मतान्तरले जित हासिल गरेका हुन्।
उनले कुल ३० हजार ७३७ मत प्राप्त गरी विजयी बनेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रदीप पौडेलले ९ हजार १५९ मत मात्र पाएका छन्। पोखरेल र पौडेलबीचको मतान्तर २१ हजार ५७८ रहेको छ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपा (एमाले) का उम्मेदवार एवं पूर्वमन्त्री ईश्वर पोखरेलले ४ हजार ७०१ मत प्राप्त गरेका छन्। यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल थापाले १ हजार ७२९, उज्यालो नेपाल पार्टीका श्रीराम गुरुङले १ हजार १०० र श्रम संस्कृति पार्टीका अमित थापाले ७११ मत पाएका छन्। यस निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी कुल २५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए।
नवनिर्वाचित सांसद पोखरेलले मतदाताले देखाएको विश्वासप्रति कृतज्ञता व्यक्त गर्दै यो परिणाम व्यक्तिगत विजय नभई नागरिकप्रतिको ठूलो जिम्मेवारी भएको बताएका छन्। उनले आजदेखि आफ्नो कर्तव्य अझ ठूलो भएको उल्लेख गर्दै आगामी पाँच वर्षमा जनताको विश्वास जोगाएर इमानदारीका साथ काम गर्ने प्रतिबद्धता जनाएका छन्। परिवर्तनको परिणाम देखाउन सकेपछि मात्र आफ्नो विजय पूर्ण हुने उनको भनाइ छ।