काठमाडौँ। पर्वत जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फको प्रत्यक्ष मतगणना सम्पन्न भएको छ। आज बिहान सार्वजनिक भएको अन्तिम मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सागर भुसाल २६ हजार ५६१ मत प्राप्त गरी विजयी भएका छन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धीलाई १० हजार ६०७ को फराकिलो मतान्तरले पछि पार्दै पर्वतमा 'घण्टी' को सानदार जित दर्ता गराएका हुन्।
निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीले १५ हजार ९५४ मत पाएका छन् भने नेकपा (एमाले) का उम्मेदवार पदम गिरी १५ हजार ७५ मतमा सीमित भएका छन्। पर्वतमा प्रतिनिधिसभा सदस्यका लागि चार स्वतन्त्रसहित १३ वटा राजनीतिक दलबाट गरी १७ जना उम्मेदवार चुनावी मैदानमा थिए। एमाले र कांग्रेसका स्थापित नेताहरूलाई पछि पार्दै युवा उम्मेदवार भुसालले हात पारेको यो जितलाई पर्वतको राजनीतिमा ठूलो परिवर्तनका रूपमा हेरिएको छ। अहिले कुश्मा र आसपासका क्षेत्रमा रास्वपाका समर्थकहरूले विजय उत्सव मनाइरहेका छन्।