arrow

यी चार निर्वाचन क्षेत्रमा अझै सुरु हुन सकेन मतगणना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २३ शनिबार
election-falgun2102082-1.jpg

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फ १६१ स्थानमा मतगणना भइरहँदा चारवटा निर्वाचन क्षेत्रमा भने अझै गणना सुरु हुन सकेको छैन।

भौगोलिक विकटता र मौसमको खराबीका कारण दुर्गम क्षेत्रबाट मतपेटिका ल्याउन ढिलाइ भएपछि ती क्षेत्रमा गणना रोकिएको हो। निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार संखुवासभा १, गोरखा १, मुगु १ र धनुषा १ मा अहिलेसम्म मतगणना प्रारम्भ हुन सकेको छैन।

संखुवासभामा सबै मतपेटिका संकलन भइसकेकाले सर्वदलीय बैठक बसेर केही समयमै गणना सुरु गर्ने तयारी गरिएको छ। गोरखा क्षेत्र नम्बर १ मा पनि दुर्गम क्षेत्रका मतपेटिकाहरू नेपाली सेनाको हेलिकोप्टरमार्फत सदरमुकाम पुर्‍याइएको छ। यस्तै, मुगुमा पनि मतपेटिका संकलन हुनेबित्तिकै गणना प्रक्रिया अघि बढाउने निर्वाचन कार्यालयले जनाएको छ।

धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा भने मतगणनाका विषयमा दलहरूबीच सहमति जुट्न बाँकी रहेकाले ढिलाइ भएको हो। त्यहाँ अहिले सर्वदलीय सहमति खोज्ने प्रयास भइरहेको र केही समयमै गणना सुरु हुने अपेक्षा गरिएको छ। देशभरका अधिकांश क्षेत्रको नतिजा आउने क्रम जारी रहे पनि यी चार क्षेत्रको ढिलाइले अन्तिम परिणाम आउन अझै केही समय लाग्ने देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ