ललितपुर १ मा रास्वपाका बुद्धरत्न विजयी, हारे कांग्रेस सहमहामन्त्री राणा
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २३ शनिबार
929
Shares
काठमाडौँ । ललितपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बुद्धरत्न महर्जनले ठूलो जित हासिल गरेका छन्। उनले नेपाली कांग्रेसका प्रभावशाली नेता एवं सहमहामन्त्री उदय शम्शेर राणालाई ९ हजार ८५३ मतान्तरले पराजित गरेका हुन्।
अन्तिम मतपरिणाम अनुसार महर्जनले २३ हजार ३७३ मत पाएका छन् भने कांग्रेसका राणाले १३ हजार ५२० मत प्राप्त गरेका छन्। नेकपा (एमाले) का उम्मेदवार चेतनाथ सञ्जेल ६ हजार ५४६ मतका साथ तेस्रो स्थानमा रहेका छन्। । यस निर्वाचन क्षेत्रमा कुल ७७ हजार ७३७ मतदाता रहेकामा ५२ हजार ६३२ मत खसेको थियो। खसेको मतमध्ये २ हजार ४९ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ। यस क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी जम्मा २८ जना उम्मेदवार चुनावी मैदानमा होमिएका थिए।
ललितपुरको यो क्षेत्रमा रास्वपाको जितसँगै जिल्लाका तीनवटै क्षेत्रमा पुराना दलहरूलाई ठूलो धक्का लागेको छ। बुद्धरत्न महर्जनको यो जितले ललितपुरको ग्रामीण र सहरी दुवै क्षेत्रमा रास्वपाको प्रभाव बलियो रहेको पुष्टि गरेको छ। अहिले चापागाउँ र आसपासका क्षेत्रमा 'घण्टी' बजाउँदै विजय जुलुस निकालिएको छ।