रास्वपा ३४ स्थानमा विजयी हुँदा कांग्रेस पाँच र एमाले दुईमा सीमित, समानुपातिकमा पनि अगाडि
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २३ शनिबार
955
Shares
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर ऐतिहासिक नतिजा निकाल्दै सानदार अग्रता कायम गरेको छ। निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फको नतिजामा अहिलेसम्म रास्वपाका उम्मेदवारहरू ३४ वटा निर्वाचन क्षेत्रमा विजयी भइसकेका छन्।
मुलुकका कुल १६५ निर्वाचन क्षेत्रमध्ये हाल गणना भइरहेका १६१ स्थानमध्ये मध्यान्ह १२ बजेसम्म रास्वपा ८५ स्थानमा अगाडि देखिएको छ। यो नतिजाले नयाँ शक्तिका रूपमा रास्वपालाई देशकै पहिलो दल बन्ने दिशामा अघि बढाएको छ।
नेपाली कांग्रेसका उम्मेदवारहरू हालसम्म पाँच स्थानमा विजयी भएका छन् भने ११ स्थानमा कांग्रेसको अग्रता कायम छ।
नेकपा (एमाले) दुई स्थानमा विजयी हुँदा आठ स्थानमा अघि छ। त्यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) एक स्थानमा विजयी भएको छ र आठ स्थानमा अग्रता लिइरहेको छ।
नयाँ दलका रूपमा उदाएको श्रम संस्कृति पार्टी चार स्थानमा अगाडि देखिएको छ भने म्याग्दी-१ बाट स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी भएका छन्।
समानुपातिकतर्फको मतगणनामा पनि रास्वपाले अन्य दलहरूलाई निकै पछाडि पारेको छ। हालसम्म गणना भएको एक लाख १२ हजार १२४ मतमध्ये रास्वपाले ६१ हजार ८६७ मत पाएको छ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १९ हजार ३५८ मत प्राप्त गरेको छ भने एमाले ११ हजार ४५७ मतका साथ तेस्रो स्थानमा छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ हजार ६५५, नेपाली कम्युनिस्ट पार्टीले ४ हजार ३२३, राष्ट्रिय परिवर्तन पार्टीले २ हजार ५४० र श्रम संस्कृति पार्टीले २ हजार २२७ मत पाएका छन्।
नेपाल मजदुर किसान पार्टी भने ८६९ मतमा सीमित छ। देशभरको यो प्रारम्भिक नतिजाले नेपालको राजनीतिमा ठूलो फेरबदल हुने संकेत गरेको छ।