नारायणकाजी बढारिए, दुई पटकको हारपछि नरेन्द्रको 'कमब्याक'
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २४ आइतबार
853
Shares
काठमाडौँ । सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पुरानो राजनीतिक किल्ला भत्काएको छ। दुई पटकको चुनावी हारपछि यसपटक 'घण्टी' चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका नरेन्द्र साह कलवारले सानदार पुनरागमन (कमब्याक) गर्दै संसद् यात्रा तय गरेका छन्।
अन्तिम मतपरिणाम अनुसार साहले ४६ हजार ८९० मत प्राप्त गरी विजयी भएका हुन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धी एवं नेपाली कम्युनिस्ट पार्टीका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठलाई ३३ हजार ५५२ को फराकिलो मतान्तरले बढारेका हुन्। श्रेष्ठले मात्र १३ हजार ३३८ मत पाएका छन्।
२०७४ र २०७९ को निर्वाचनमा झिनो मतान्तरले पराजित भएका साहले यसपटक निर्वाचनको मुखैमा रास्वपा रोजेका थिए। उनको यो तेस्रो प्रयासले उनलाई प्रत्यक्ष निर्वाचित सांसदको रूपमा स्थापित गरेको छ। उता, एमालेका हरिप्रसाद उप्रेतीले ५ हजार ७७६ र कांग्रेसका विनोद खनालले ६ हजार ६२४ मत मात्र प्राप्त गरेका छन्। यस नतिजाले सर्लाहीमा पुराना दलहरूको वर्चस्व पूर्ण रूपमा समाप्त भएको संकेत गरेको छ।