काठमाडौँ। पर्सा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रामाकान्त चौरसिया निर्वाचित भएका छन्। बिहीबार सम्पन्न निर्वाचनको अन्तिम मत परिणामअनुसार चौरसियाले २९ हजार ६७९ मत प्राप्त गरी सानदार जित हासिल गरेका हुन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रभावशाली नेता सुरेन्द्रप्रसाद चौधरीलाई १३ हजार ३१३ मतान्तरले पराजित गरेका छन्।
निर्वाचन अधिकृत बुद्धिलाल श्रेष्ठका अनुसार कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीले १६ हजार ३६६ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का उम्मेदवार रूपेशकुमार पाण्डे ११ हजार ९१४ मतसहित तेस्रो स्थानमा रहेका छन्। यस्तै, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार छोटेलालप्रसाद यादवले २ हजार १३७ मत ल्याएका छन्। कुल २३ जना उम्मेदवार चुनावी मैदानमा रहेको यस क्षेत्रमा १४ जना दलीय र ९ जना स्वतन्त्र उम्मेदवारहरूले प्रतिस्पर्धा गरेका थिए।
पर्सा ३ मा कुल ९६ हजार ५४२ मतदाता रहेकामा ६७ हजार ५०४ मत खसेको थियो। स्थापित राजनीतिक दलका हस्तीहरूलाई ठूलो अन्तरले पछाडि पार्दै रामाकान्त चौरसियाले निकालेको यो नतिजालाई मधेसको राजनीतिमा 'घण्टी' को लहरको रूपमा हेरिएको छ। यो जितसँगै रास्वपाले पर्साका अन्य क्षेत्रहरूमा पनि आफ्नो बलियो उपस्थिति प्रमाणित गरेको छ।