पूर्वमन्त्री रिजाललाई पछि पार्दै पर्सा ४ मा रास्वपाका शाक्य विजयी
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २४ आइतबार
859
Shares
काठमाडौँ । पर्सा निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार टेकबहादुर शाक्य निर्वाचित भएका छन्। बिहीबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणामअनुसार शाक्यले २८ हजार ६ मत प्राप्त गरी सानदार जित हासिल गरेका हुन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्वमन्त्री रमेश रिजाललाई १५ हजार ४७३ मतान्तरले पराजित गरेका छन्।
निर्वाचन अधिकृत नुतन झाका अनुसार कांग्रेसका रमेश रिजालले १२ हजार ५३३ मत प्राप्त गरेका छन्। यस्तै, नेकपा (एमाले) का उम्मेदवार जालिम मियाँ मन्सुरी १२ हजार १४६ मतसहित तेस्रो स्थानमा रहेका छन्। पर्साको यो क्षेत्रमा स्थापित र 'हेभीवेट' मानिने नेताहरूलाई निकै पछाडि पार्दै रास्वपाका शाक्यले निकालेको यो नतिजाले मधेसको राजनीतिमा ठूलो परिवर्तनको संकेत गरेको छ।
यस निर्वाचन क्षेत्रमा कुल २३ जना उम्मेदवार चुनावी मैदानमा थिए, जसमा १२ जना दलीय र ११ जना स्वतन्त्र उम्मेदवार रहेका थिए। ९५ हजार २१३ मतदाता रहेको यस क्षेत्रमा ६५ हजार ७२७ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। पर्सा ३ मा रामाकान्त चौरसिया र पर्सा ४ मा टेकबहादुर शाक्यको जितले वीरगन्ज क्षेत्रमा 'घण्टी' को लहर निकै सशक्त देखिएको छ।