एक करोड सात लाख मत गणना हुँदा यस्तो छ दलहरूको पछिल्लो मत अवस्था
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २७ बुधबार
761
Shares
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुग्दा राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो अग्रतालाई अत्यन्तै फराकिलो बनाएको छ।
निर्वाचन आयोगले आज बिहान ३ः३० बजेसम्म उपलब्ध गराएको पछिल्लो विवरण अनुसार हालसम्म कूल एक करोड सात लाख २० हजार ५६७ मत गणना भइसकेको छ। यसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ५१ लाख १९ हजार ६१९ मत प्राप्त गर्दै आफूलाई शीर्ष स्थानमा सुरक्षित राखेको छ।
पछिल्लो मत परिणाम अनुसार दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १७ लाख ४५ हजार ९५४ मत प्राप्त गरेको छ भने नेकपा (एमाले) १४ लाख ४७ हजार ६६४ मतसहित तेस्रो स्थानमा खुम्चिएको छ।
यसैगरी, नेपाली कम्युनिष्ट पार्टीले आठ लाख दुई हजार ७४३ मत ल्याउँदै चौथो स्थान हासिल गरेको छ भने नयाँ शक्तिका रूपमा उदाएको श्रम संस्कृति पार्टीले तीन लाख ७८ हजार ४७८ मत प्राप्त गर्न सफल भएको छ।
अन्य राजनीतिक दलहरूमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २९ हजार १९७ मत प्राप्त गरेको छ भने जनता समाजवादी पार्टी नेपालले एक लाख ७४ हजार ३०५ मत ल्याएको छ। यसैगरी राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ७१ हजार ४४४ मत र जनमत पार्टीले ७८ हजार ९२७ मत प्राप्त गरेका छन्।
देशका केही बाँकी निर्वाचन क्षेत्रहरूमा अझै पनि मतगणना कार्य जारी रहेको र अन्तिम परिणाम सार्वजनिक भएपछि मात्र दलहरूले पाउने कूल सिट सङ्ख्या यकिन हुने निर्वाचन आयोगले जनाएको छ।