arrow

युद्धको बाछिटा: इरान र पाकिस्तानबाट अफगान शरणार्थी फर्किए स्वदेश

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २७ बुधबार
iran-attack-israel-25-3-9.jpg

काठमाडौँ । मध्यपूर्वमा चर्किएको युद्ध र क्षेत्रीय तनावका बीच पाकिस्तान र इरानबाट करिब दुई लाख ७० हजार अफगान नागरिक आफ्नो देश फर्किएका छन्। संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सीका अनुसार इरानबाट एक लाख १० हजार र पाकिस्तानबाट एक लाख ६० हजार नागरिक अफगानिस्तान फर्किएका हुन्।

विशेषगरी फेब्रुअरी २८ मा संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि हवाई आक्रमण गरेपछि तेहरानले ड्रोन र मिसाइलमार्फत जवाफ फर्काएसँगै फिर्ता हुनेहरूको सङ्ख्या ह्वात्तै बढेको छ। पछिल्ला दिनहरूमा मात्रै दैनिक करिब एक हजार ७०० अफगान नागरिक इरान छोडेर स्वदेश फर्किरहेको तथ्याङ्कले देखाउँछ। संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधिले यो फिर्ती प्रक्रिया व्यवस्थित देखिए पनि अत्यन्तै तनावपूर्ण र चिन्ताजनक रहेको बताएका छन्।

अफगानिस्तानले अहिले इरानसँग सम्बन्धित भू-राजनीतिक घटनाहरूको प्रत्यक्ष असर भोगिरहेको छ भने यता पाकिस्तानसँगको सीमा क्षेत्रमा पनि पटक-पटक झडपका घटनाहरू भइरहेका छन्। सीमा नाकाहरू पूर्ण रूपमा खुल्ने बित्तिकै स्वदेश फर्कनेहरूको सङ्ख्या अझै तीव्र गतिमा बढ्न सक्ने चेतावनी दिइएको छ। मध्यपूर्वको जारी युद्धले यस क्षेत्रमा ठुलो मानवीय सङ्कट निम्त्याउन सक्ने जोखिम बढेको छ।

बढ्दो मानवीय चापलाई मध्यनजर गर्दै संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सी र युनिसेफले सीमा क्षेत्र तथा भित्री व्यवस्थापन क्षमता सुदृढ बनाउने प्रयास गरिरहेका छन्। यद्यपि, फर्कनेहरूको ठुलो सङ्ख्यालाई व्यवस्थापन गर्न वर्तमान स्रोत र साधन पर्याप्त नहुने भन्दै थप अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता औँल्याइएको छ। पछिल्लो दुई वर्षमा मात्रै छिमेकी देशहरूबाट ५ लाखभन्दा बढी अफगान नागरिक स्वदेश फर्किसकेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ