arrow

सोह्र वर्षीया इनिशाको मृत्युपछि न्याय माग्दै वीरेन्द्रनगरमा प्रदर्शन

सामूहिक बलात्कारपछि हत्याको आशंका

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २७ बुधबार
isa-khabardari.jpg

काठमाडौँ। वीरेन्द्रनगरस्थित शहीद पार्क नजिकैको सामुदायिक वनमा मृत अवस्थामा भेटिएकी १६ वर्षीया इनिशा विकको घटनालाई लिएर सुर्खेतमा तनाव उत्पन्न भएको छ। मृतकका आफन्त र अधिकारकर्मीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीलाई कडा कारबाही र पीडित परिवारलाई न्यायको माग गर्दै वीरेन्द्रनगरमा प्रदर्शन गरेका छन्।

शनिबार बिहान 'प्रयोगात्मक परीक्षा छ' भन्दै विद्यालय हिँडेकी इनिशा अबेरसम्म घर नफर्किएपछि खोजी सुरु गरिएको थियो। सोही दिन बिहान ९ बजे वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा उनी रक्ताम्मे र बेहोस अवस्थामा फेला परेकी थिइन्। अस्पताल पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।

इनिशाकी आमाका अनुसार घटनास्थलमा इनिशाको शरीर रक्ताम्मे हुनुका साथै कपाल लुछिएको, घाँस मडारिएको र लुगाफाटा छरपस्ट अवस्थामा भेटिएको थियो। "एकातिर जुत्ता र अर्कोतिर मोजा परेको अवस्थामा छोरीलाई देखेपछि म आफैँ बेहोस भएँ," उनले भनिन्। आफन्तहरूले इनिशाको सामूहिक बलात्कारपछि हत्या गरिएको दाबी गर्दै फागुन २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन्। दोषीलाई कारबाही नभएसम्म शव नबुझ्ने अडान परिवारले लिएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डिएसपी मोहनजंग बुढाथापाका अनुसार प्रारम्भिक अनुसन्धानले इनिशामाथि बलात्कारपछि मृत्यु भएको सङ्केत गरेको छ। प्रहरीले घटनास्थलबाटै एक युवक र पछि थप तीन जना गरी कुल चार जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका सबै १८ वर्षमुनिका नाबालक रहेको प्रहरीको भनाइ छ।

"इनिशामाथि बलात्कार भएको हो वा होइन भन्नेबारे अन्तिम चिकित्सकीय (Post-mortem) रिपोर्ट आउन बाँकी छ, तर प्रारम्भिक अनुसन्धानले बलात्कारपछि मृत्यु भएको देखाउँछ," डिएसपी बुढाथापाले भन्नुभयो। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

वीरेन्द्रनगर–६ स्थित उषा बालबाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत इनिशाको यो दुखद घटनाले स्थानीय समुदायमा त्रास र आक्रोश फैलाएको छ। प्रदर्शनकारीहरूले ‘बालिकामाथि हुने बलात्कार, हत्या र हिंसा बन्द गर’ भन्दै सडकमा उत्रिएर प्रशासनलाई दबाब दिइरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ