arrow

युद्ध रोक्न इरानका तीन शर्त

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २८ बिहिबार
iran-maps.jpg

काठमाडौँ । इरान–अमेरिका–इजरायल युद्ध तेह्रौँ दिनमा प्रवेश गरिरहँदा इरानले सङ्घर्ष अन्त्यका लागि तीन ओटा मुख्य शर्त अघि सारेको छ। इरानी राष्ट्रपति मसुद पेजेस्कियानले इरानको वैध अधिकारको मान्यता, युद्धबाट भएको क्षतिको क्षतिपूर्ति र भविष्यमा आक्रमण नहुने अन्तर्राष्ट्रिय ग्यारेन्टी नभएसम्म युद्ध नरोकिने स्पष्ट पारेका छन्।

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि गरेको संयुक्त आक्रमणमा सर्वोच्च नेता अयातुल्ला सैयद अली खामेनीसहित उच्च कमान्डरहरूको मृत्यु भएपछि यो युद्ध सुरु भएको थियो। इरानका अनुसार सो आक्रमण यता अमेरिकी र इजरायली सैन्य कारबाहीका कारण कम्तीमा १ हजार ३४८ सर्वसाधारणको ज्यान गइसकेको छ भने १७ हजारभन्दा बढी घाइते भएका छन्।

जवाफमा इरानको 'इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स' (आइआरजीसी) ले 'अपरेसन ट्रु प्रोमिस–४' अन्तर्गत इजरायलको तेल अभिव र हाइफा क्षेत्रका साथै विभिन्न १७ वटा अमेरिकी सैन्य आधारहरूलाई निशाना बनाएको छ। इरानले गदर, इमाद र फताह जस्ता मिसाइलहरू प्रयोग गरेर अमेरिकी 'थाड' मिसाइल रक्षा प्रणालीका रडारहरूमा समेत क्षति पुर्‍याएको दाबी गरिएको छ।

यसैबीच, संयुक्त राष्ट्र सुरक्षा परिषद्ले इरानद्वारा खाडी राष्ट्रहरू र जोर्डनमाथि गरिएको आक्रमणको निन्दा गर्दै विशेष प्रस्ताव पारित गरेको छ। बहराइनको नेतृत्वमा ल्याइएको सो प्रस्तावको पक्षमा १३ मत परेको थियो भने रुस र चीन मतदानमा सहभागी भएनन्। इरानले होर्मुज जलडमरूमध्य बन्द गर्ने चेतावनी दिएपछि विश्व बजारमा कच्चा तेलको मूल्य समेत बढेको छ।

युद्धको मैदानमा इराकको तट नजिक दुई तेल ट्याङ्करमाथि आक्रमण हुँदा एक जनाको मृत्यु भएको छ। उता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले युद्ध जितेको दाबी गरे पनि लक्ष्य पूर्ण रूपमा प्राप्त नभएसम्म अमेरिकी सेना सोही क्षेत्रमा तैनाथ रहने बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ