यूएईमाथि इरानको मिसाइल र ड्रोन प्रहार: हवाई उडान स्थगित, ग्यास उत्पादन ठप्प
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ३ मंगलबार
1.8k
Shares
काठमाडौँ । इरान र इजरायलबीच बढ्दो तनावको बाछिटा खाडी मुलुकहरूमा परिरहेको छ । इरानबाट भएका पछिल्ला मिसाइल र ड्रोन आक्रमणपछि संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्नो सम्पूर्ण हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको छ। यूएईको जनरल सिभिल एभिएसन अथोरिटीले उडान सुरक्षा र भौगोलिक अखण्डता जोगाउन यो कडा कदम चालिएको स्पष्ट पारेको छ।
यूएईको रक्षा मन्त्रालयका अनुसार इरानबाट प्रहार गरिएका घातक मिसाइल र ड्रोनहरूलाई 'एयर डिफेन्स सिस्टम' मार्फत आकाशमै नष्ट गर्ने काम भइरहेको छ। दुबईका विभिन्न स्थानमा सुनिएका ठुला आवाजहरू इरानी मिसाइललाई वायु रक्षा प्रणालीले बीचमै अवरोध गर्दा आएका हुन्। सरकारले यसलाई "असाधारण सावधानीपूर्ण उपाय" भन्दै आफ्ना नागरिक र हवाई चालक दलको सुरक्षाका लागि उडानहरू रोक्नुपरेको जनाएको छ।
आक्रमणको मुख्य निशाना यूएईको ऊर्जा पूर्वाधार बनेको छ। अबुधाबीबाट १८० किलोमिटर दक्षिण-पश्चिममा रहेको विश्वकै ठुलो ग्यास उत्पादन केन्द्रमध्ये एक 'शाह ग्यास क्षेत्र' मा ड्रोन आक्रमणपछि भिषण आगलागी भएको छ। सरकारी स्वामित्वको अबुधाबी नेशनल आयल कम्पनी (एडनोक) ले आगलागी नियन्त्रणमा लिइसकेको भए पनि सुरक्षा मूल्यांकनका लागि ग्यास उत्पादन अस्थायी रूपमा स्थगित गरेको छ। दैनिक १.२८ अर्ब क्युबिक फिट ग्यास उत्पादन क्षमता भएको यो केन्द्र बन्द हुँदा विश्व ऊर्जा बजारमा थप दबाब पुग्ने देखिएको छ।
यूएईमाथि यो पहिलो आक्रमण होइन। यसअघि सोमबार मात्रै फुजैराह पेट्रोलियम औद्योगिक क्षेत्रमा ड्रोन आक्रमण हुँदा ठुलो आगलागी भएको थियो। इरानले लगातार यूएईका ऊर्जा र यातायात पूर्वाधारहरूलाई निशाना बनाइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। शाह ग्यास क्षेत्रमा भएको पछिल्लो घटनामा मानवीय क्षति नभए पनि भौतिक संरचनामा भने क्षति पुगेको छ।