एनओसीको आयोजनामा शनिबार लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ३ मंगलबार
5.3k
Shares
तस्बिर : एनओसी उपाध्यक्ष तथा लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनका संयोजक अशोकरत्न वज्राचार्य ।
काठमाडौँ । नेपाल ओलम्पिक कमिटी (एनओसी)को आयोजनामा चौथो लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन २०२६ शनिबार लुम्बिनीमा हुने भएको छ । एनओसीले सन् २०२२ देखि लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन गर्दै आएको हो ।
यसपालि पुरुष म्याराथन, महिला हाफ म्याराथन, खुला ५ किमी दौड (पुरुष/महिला), ५ किमी दौड (स्कुल ब्वाइज/गल्र्स), ५ किमी रन भेटरान पुरुष गरी पाँच विधामा प्रतिस्पर्धा हुनेछ । यसैगरी ३ किमी खुल्ला पिस वाकाथनको आयोजना पनि गरिनेछ । यी सबै इभेन्टमा गरी कूल १२०० जनाले सहभगिता जनाउनेछ ।
चौथा संस्करणमा कूल पुरस्कार राशि १७ लाख ६९ हजार रुपियाँ रहेको छ । पुरुष म्याराथनमा विजेताले तीन लाख ५० हजार, दोस्रो हुनेले दुई लाख ५० हजार र तेस्रो हुनेले एक लाख ५० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछ । यसैगरी म्याराथनमा शीर्ष दस स्थानमा रहने धावकहरुलाई क्रमशः एक लाख, ८० हजार, ६० हजार, ४० हजार, २० हजार १० हजार र ५ हजार रुपियाँ प्रदान गरिनेछ ।
महिला हाफ म्याराथनमा विजेताले एक लाख ५० हजार, उपवजेताले एक लाख, तेसो हुनेले ८० हजार, चौथो हुनले ५० हजार र पाँचौँ स्थान प्राप्त गर्नेले ३० हजार रुपियाँ पुरस्कार पाउनेछ । अन्य विधामा पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
एनओसीका उपाध्यक्ष तथा लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनका संयोजक अशोकरत्न वज्राचार्यले प्रत्येक वर्ष अप्रिल ६ मा विश्वभर मनाइने विकास र शान्तिका लागि अन्तर्राष्ट्रिय खेलकुद दिवसबाट लुम्बिनी पिस म्याराथन प्रेरित रहेको बताए । उनले भने– एनओसीले विगत चार वर्षदेखि खेलकुदमार्फत शान्ति, एकता र दिगो विकास प्रवद्र्धन गर्ने नेपालको प्रतिबद्धतालाई निरन्तरता दिने उद्देश्यअनुरुप युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीमा यो दौडको आयोजना गर्दै आएको छ ।
संयोजक वज्राचार्यका अनुसार लुम्बिनी पिस म्याराथन एनअोसीको एक प्रमुख कार्यक्रमका रूपमा स्थापित भइकेको छ । उनले भने– यसपाली सहभागीहरुको सङ्ख्यामा पनि उल्लेखनीय वृद्धि भएको छ ।
यसलाई लुम्बिनी पिस म्याराथनको सफलताको रुपमा लिएको उनले बताए । यसैगरी लुम्बिनी पिस म्याराथनले लामो दुरीको दौडमा नेपालको स्तरलाई थप माथि पुर्याउने र धावकधाविकाहरुको हौसला बढाउन पनि सहयोग गर्ने अपेक्षा संयोजक वज्राचार्यको छ ।
लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनले उत्कृष्ट खेलाडीहरू, धावकहरू, युवाहरू, आध्यात्मिक व्यक्तित्व तथा विश्वभरका शान्ति अभियन्तालाई एकै ठाउँमा ल्याउने, खेल पर्यटनलाई प्रवद्र्धन गर्ने तथा लुम्बिनीलाई शान्ति र आध्यात्मिकताको विश्वव्यापी गन्तव्यका रूपमा थप पहिचान दिलाउने अपेक्षा गरिएको छ ।
पुरुष म्याराथनमा अनिश थापामगर र महिला हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ साविक विजेता हुन् ।