मन्त्री बन्न ‘मिडिया ट्रायल’ र लबिङ नगर्न सांसदहरूलाई चेतावनी [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ४ बुधबार
669
Shares
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मन्त्री बन्नका लागि कुनै पनि प्रकारको लबिङ वा ‘मिडिया ट्रायल’ नगर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएका छन् ।
सांसदहरूको अभिमुखीकरण कार्यक्रमको समापन गर्दै उनले सरकारमा जाने विषयलाई लिएर बाहिर जथाभावी नबोल्न सचेत गराएका हुन्।
रास्वपाले अभूतपूर्व जनमत पाएको र सरकारमा जाने सम्भावना रहेको सन्दर्भमा सांसदहरूबीच मन्त्री बन्ने आकांक्षा बढ्नु स्वाभाविक भए पनि त्यसलाई मिडियाबाजीको विषय नबनाउन उनले आग्रह गरे ।
पार्टीले कसलाई सरकारमा पठाउने भन्ने विषयमा अहिलेसम्म कुनै निर्णय गरी नसकेको उनले जानकारी दिए।
मन्त्री छनोटको मापदण्ड व्यक्तिको क्षमता र विज्ञता हुने भन्दै उनले कसैले पनि आफ्नो लागि भनसुन गर्नु नपर्ने बताए।
मिडियामा धेरै देखिने र नदेखिने दुवैथरी सांसदहरूको मूल्यांकन पार्टीले गरिरहेको उनले बताए।
उनले भने, ‘तपाईंहरूमध्ये कोही न कोही मन्त्रालय सम्हाल्ने साथीहरू हुनुहुन्छ । तर कृपया ‘मन्त्री बनाइदिनुस्’ भनेर या मिडिया ट्रायलमा ‘म फलानो मन्त्री’ भनेर प्रचार गर्ने काम बन्द गरिदिनुहोला। पार्टीले क्याबिनेटमा को-कसलाई पठाउँछ भन्ने निर्णय आज यतिखेर तपाईंसँग उभिँदासम्म हामीले गरेका छैनौं । पार्टीले सही निर्णय गर्छ, कसैलाई तपाईंले भन्नु पर्दैन ।हामीलाई तपाईंहरूको विज्ञता र क्षमता थाहा छ ।’
उनले चुनावको बेला जनतासँग गरिएको ‘करार’ (प्रतिवद्धता पत्र) का अक्षर-अक्षर पढ्न सांसदहरूलाई निर्देशन दिँदै मन्त्री बन्ने दौडमा भन्दा पनि जनताको चुलो कसरी बल्छ र उनीहरूको जीवनस्तर कसरी उकासिन्छ भन्ने कुरामा ध्यान केन्द्रित गर्न निर्देशन दिए ।