गृहमन्त्रीसहित पाँच मन्त्रीले गरे संसद् भवनको स्थलगत निरीक्षण
शपथ र अधिवेशनका लागि तयार भयो नयाँ संसद् भवन, गृहमन्त्रीले भने– 'सिटिङ र प्रविधि सन्तोषजनक छ'
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ६ शुक्रबार
920
Shares
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालसहित विभिन्न मन्त्रीहरूले आज सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवनको स्थलगत निरीक्षण एवं अनुगमन गरेका छन्। नवनिर्वाचित सांसदहरूको शपथ र आगामी अधिवेशनको तयारीका सन्दर्भमा मन्त्रीहरूको टोलीले निर्माण कार्यको प्रगतिबारे जानकारी लिएको हो।
निरीक्षण टोलीमा गृहमन्त्री अर्यालसहित परराष्ट्रमन्त्री बालानन्द शर्मा, अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, स्वास्थ्यमन्त्री डा. सुधा गौतम र महिला तथा बालबालिका मन्त्री श्रद्धा श्रेष्ठ सहभागी थिए। उनीहरूले संसद् बैठकका लागि तयार गरिएको नयाँ ‘मल्टिपर्पोज हल’, निर्माणाधीन प्रतिनिधिसभा र राष्ट्रियसभा हलको विस्तृत अवलोकन गरे।
अनुगमनका क्रममा गृहमन्त्री अर्यालले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथका लागि बैठक कक्ष पूर्ण रूपमा तयार रहेको बताए। निर्माण पक्षको ब्रिफिङ उद्धृत गर्दै उनले आवश्यक परेको खण्डमा प्रतिनिधिसभाको पूर्ण अधिवेशन नै यहीँ सञ्चालन गर्न सकिने गरी व्यवस्थापन मिलाइएको जानकारी दिए।
गृहमन्त्रीले भने, “नयाँ भवनमा शपथ ग्रहणका लागि मात्र नभई पूर्ण अधिवेशन नै सञ्चालन गर्नुपरेमा पनि सबै तयारी अवस्थामा छ। प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकका लागि आवश्यक पूर्वाधार तयार भइसकेको छ। सभामुखको कार्यकक्ष र कार्यव्यवस्था परामर्श समितिको स्थान पनि तय भइसकेको छ।”
भवनभित्रको सिट व्यवस्थापन (सिट प्लानिङ) र फर्निचर जडान कार्य सन्तोषजनक रहेको उल्लेख गर्दै उनले माइक तथा स्क्रिन जडानको काम समेत द्रुत गतिमा भइरहेको बताए। अस्थायी व्यवस्थापन भए पनि प्रयोग गरिएका सामग्री र प्रविधि गुणस्तरीय रहेको उनको भनाइ छ।
सहरी विकास तथा भवन निर्माण विभागका अनुसार संसद् भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। करिब १५६ रोपनी क्षेत्रफलमा फैलिएको यो परियोजनामा सङ्घीय संसद् भवन, प्रतिनिधिसभा, राष्ट्रियसभा, अतिविशिष्ट कक्ष, संसदीय दलको कार्यालय र विभिन्न समितिका भवन गरी कुल १२ वटा संरचना रहने परियोजना प्रमुख प्रमेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिएका छन्।