arrow

युद्धको छायामा २० लाख नेपाली

मध्यपूर्वमा भौतिक क्षतिभन्दा मानसिक त्रास बढी: पाँच सय नेपालीले मागे स्वदेश फिर्तीको अनुमति

दुई जनाको मृत्यु, खर्च अभावले घर फर्किन पाएनन् श्रमिकले, एनआरएनएको उद्धार योजना: १० करोडको ‘वैदेशिक रोजगार कल्याणकारी कोष’ मार्फत नेपालीको उद्धार गरिने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ७ शनिबार
iran-israel-usa-war-nrna.jpg

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वका कारण त्यहाँ कार्यरत नेपाली श्रमिकहरूमा मानसिक त्रास बढ्दो क्रममा रहेको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता सोमनाथ सापकोटाले मध्यपूर्वमा भौतिक क्षतिभन्दा पनि मानसिक त्रास बढी रहेको जानकारी दिएका छन्।

बढ्दो त्रासका कारण स्वदेश फर्किन चाहने नेपालीहरूको सङ्ख्या बढ्दै गएको प्रवक्ता सापकोटाले बताए। हालसम्म पाँच सयभन्दा बढी नेपालीले स्वदेश फर्किन चाहे पनि आर्थिक अभावका कारण उनीहरू समस्यामा परेका छन्। नेपाल सरकारले फर्किन चाहनेहरूलाई दूतावासमा फारम भर्न अनुरोध गरेको छ।

आर्थिक अभावका कारण फर्किन नसकेका नेपालीको उद्धारका लागि एनआरएनएले ‘वैदेशिक रोजगार कल्याणकारी कोष’ स्थापना गरेको प्रवक्ता सापकोटाले बताए। संघको १२ औँ महाधिवेशन पछिको बैठकले ५ करोड रुपैयाँबाट सुरु गरेको यो कोषलाई १० करोड पुर्‍याउने लक्ष्य राखिएको छ। यो रकम उद्धार, श्रमिकको सुरक्षा र ट्रान्जिटमा अलपत्र परेका नेपालीको व्यवस्थापनमा खर्च गरिने उनले जानकारी दिए।

प्रवक्ता सापकोटाका अनुसार हालसम्म मध्यपूर्वको द्वन्द्वमा परी दुई जना नेपालीको मृत्यु भएको छ। धेरै नेपालीले असुरक्षा महसुस गरिरहेकाले परराष्ट्र मन्त्रालय र अन्य सरकारी निकायसँग समन्वय गरी एनआरएनएले उद्धार टोली परिचालन गरेको उनले बताए।

उनले भने, “यो अप्ठ्यारो परिस्थितिमा २० लाख नेपाली वैदेशिक रोजगारीमा छन्। हामीले ५ करोडको कोष बनाएका छौँ, जसलाई १० करोड पुर्‍याएर अलपत्र परेकाहरूको उद्धार गर्नेछौँ। धेरै श्रमिक आफ्नै खर्चमा फर्किन सक्ने अवस्थामा छैनन्, त्यसैले प्राथमिकताका आधारमा उद्धारको तयारी भइरहेको छ।”

बाहिर हल्ला फैलिए जस्तो तत्कालै भयावह स्थिति नभए पनि युद्धले कुन रूप लिन्छ भन्ने यकिन नभएकाले सचेत हुनुपर्ने प्रवक्ता सापकोटाको भनाइ छ। उनले मध्यपूर्व भएर तेस्रो मुलुक जाने नेपालीलाई पनि संघले अस्थायी बसोबास र मार्गदर्शन प्रदान गरिरहेको बताए।

उनले थप भने, “अहिले भौतिक क्षतिभन्दा मानसिक त्रास बढी छ। भविष्यमा स्थिति जटिल हुन सक्ने आँकलन गर्दै हामीले सरकारलाई विभिन्न योजनाहरू प्रस्तुत गरेका छौँ। हाम्रो मुख्य ध्यान अहिले राहत र उद्धारमै केन्द्रित छ।” सम्भावित सङ्कटलाई ध्यानमा राखेर सरकार र संघ दुवैले पूर्वतयारीलाई तीव्रता दिएको उनले जिकिर गरे।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ