मुस्ताङमा छैटौँ पटकको हिमपात: किसान र पशुपालकलाई राहत
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ८ आइतबार
654
Shares
काठमाडौँ । मुस्ताङमा जारी सिजनको छैटौँ पटकको हिमपातले यहाँका किसान र पशुपालक व्यवसायीलाई ठुलो राहत मिलेको छ। यस वर्ष अनुकूल समयमा पटक-पटक हिउँ परेकाले स्थानीयहरू उत्साहित भएका हुन्।
शुक्रबार राति माथिल्लो मुस्ताङसहित मुक्तिनाथ क्षेत्रमा भारी हिमपात भएको छ। घरपझोङ र थासाङ गाउँपालिकाको उच्च लेकमा हिमपात भएको छ भने बस्ती क्षेत्रमा वर्षा भएको छ। शुक्रबारको हिमपातले माथिल्लो मुस्ताङ र वारागुङ मुक्तिक्षेत्रका चरन क्षेत्र तथा खेतीयोग्य जमिन पूरै हिउँले ढाकिएका छन्।
घरपझोङ–५ ठिनीका पशुपालक किसान च्याङबहादुर थकालीले भ्रप्सा, यारुझो भ्यूटावर, नमखुलेक र तिलिचो पदमार्गको मेसोकोन्दो पास पूरै सेताम्मे भएको जानकारी दिए।
जलवायु परिवर्तनका कारण पछिल्ला वर्षहरूमा समयमा हिउँ नपर्दा चरन क्षेत्रमा घाँसको अभाव हुने गरेको थियो। तर, यस वर्ष हुरीबतास बिनाको हिउँ परेकाले चरन क्षेत्रमा पर्याप्त घाँस पलाउने थकालीले बताए। उनले भने, “अनुकूल हिमपातले चरन क्षेत्रमा घाँस हुने भएपछि हिउँ चितुवाको आहारा प्रजाति बस्तीतिर झर्दैनन्, जसले गर्दा वन्यजन्तुको जोखिम पनि कम हुन्छ।”
तीन वर्षदेखि समयमा हिउँ नपर्दा मुस्ताङको पशुपालन व्यवसाय नै सङ्कटमा पर्न थालेको थियो। हिमनदी र पानीका मुहान सुक्दै जाँदा अनधिकृत घाँस पलाएर पशुचौपायालाई असर गर्ने गरेको थकालीले उल्लेख गरे।
यस वर्षको हिमपातले कृषि पेसामा रहेका किसानलाई पनि फाइदा पुर्याएको छ। हिउँ लामो समयसम्म जमिनमा रहँदा भित्री तहसम्म सिञ्चित हुने भएकाले यसलाई किसानले 'वरदान' मानेका छन्। थकालीका अनुसार अहिले खेतबारीमा रैथाने उवा, जौँ, गहुँ र हरियो तरकारी रोपिएको छ भने स्याउको फूल फुल्ने बेला हुन लागेको छ।
“हिउँले अन्नबाली र फलफूलमा लाग्ने रोगकीरालाई समेत नष्ट गर्ने भएकाले यो हाम्रा लागि अर्गानिक विषादी जस्तै हो,” उनले भने। यद्यपि, स्याउको फूल फुल्ने बेलामा भने हिउँ नपरोस् भन्ने किसानको चाहना छ।
पर्यटकीय सिजन सुरु भएकै बेला छैटौँ पटक हिमपात भएपछि मुस्ताङ भ्रमणमा आउने पर्यटकहरू पनि उत्साहित देखिएका छन्। हिउँ हेर्न र हिउँसँग खेल्न चाहने पर्यटकहरूको सङ्ख्या अबका दिनमा अझ बढ्ने दाबी थकालीले गरेका छन्।