काठमाडौँ । इरानका विदेश मन्त्री अब्बास अराघचीले जापानी पानीजहाजहरूलाई हर्मुज जलमार्ग 'स्ट्रेट अफ हर्मुज' पार गर्न मद्दत गर्न तेहरान तयार रहेको बताएका छन्। जापान आफ्नो कच्चा तेल आयातका लागि मुख्य रूपमा मध्य पूर्वमा निर्भर छ जसको ठुलो हिस्सा यही रणनीतिक जलमार्ग हुँदै आपूर्ति हुन्छ।
अमेरिका र इजरायलको आक्रमणपछि इरानले यो मार्गमा अवरोध सिर्जना गरेको भनिए पनि विदेश मन्त्री अराघचीले मार्ग पूर्ण रूपमा बन्द नभएको दाबी गरे। क्योदो न्यूजसँगको टेलिफोन अन्तर्वार्तामा उनले इरानमाथि आक्रमण गर्ने देशहरूले मात्र प्रतिबन्धको सामना गर्नुपर्नेमा जोड दिए।
अराघचीले आफ्नो टेलिग्राम च्यानलमा पोस्ट गरिएको अन्तर्वार्तामा भनेका छन्, “हामीले यो स्ट्रेट बन्द गरेका छैनौँ। हाम्रो दृष्टिकोणमा यो मार्ग खुला छ। तर, यो केवल हाम्रा शत्रु र हामीमाथि आक्रमण गर्ने देशका जहाजहरूका लागि मात्र बन्द हो। अन्य देशका जहाजहरू सहजै जान सक्छन्।” उनले जापानलाई सुरक्षित मार्ग सुनिश्चित गर्न इरान तयार रहेको भन्दै यसका लागि टोकियोले तेहरानसँग सम्पर्क गरी आवश्यक छलफल गर्नुपर्ने बताए।
विश्वको चौथो ठुलो अर्थतन्त्र र पाँचौँ ठुलो तेल आयातकर्ता जापानले आफ्नो कुल खपतको ९५ प्रतिशत तेल मध्य पूर्वबाट र ७० प्रतिशत यही हर्मुज जलमार्ग हुँदै भित्र्याउँछ। आपूर्तिमा अवरोध देखिएपछि जापानले आफ्नो रणनीतिक तेल भण्डार प्रयोग गर्न सुरु गरेको छ।
जापानसँग हाल २५४ दिनको घरेलु उपभोग धान्न सक्ने विश्वकै ठुलो तेल भण्डार सुरक्षित छ। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका सदस्य राष्ट्रहरूले गत मार्च ११ मा मध्य पूर्वको युद्धका कारण बढेको तेलको मूल्य नियन्त्रण गर्न आफ्नो भण्डार प्रयोग गर्ने ऐतिहासिक निर्णय गरेका थिए। यो कदमलाई ऊर्जा संकट समाधानका लागि अहिलेसम्मकै ठुलो अन्तर्राष्ट्रिय प्रतिक्रियाका रूपमा हेरिएको छ।