arrow

मध्यपूर्व युद्ध: ८० हजारभन्दा बढी नागरिक स्थलमा आक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ८ आइतबार
iran-uae-attack.jpg

काठमाडौँ । संयुक्त राज्य अमेरिका र इजरायलले इरानविरुद्ध सुरु गरेको सैन्य कारबाहीका क्रममा हालसम्म ८० हजारभन्दा बढी नागरिक स्थलहरूमा आक्रमण भएको विवरण सार्वजनिक भएको छ। विदेशी सञ्चारकर्मीहरूसँगको सम्बोधनका क्रममा यी आक्रमणहरूले अन्तर्राष्ट्रिय मानवीय कानुनको गम्भीर उल्लङ्घन गरेको आरोप लगाइएको छ।

उपलब्ध तथ्याङ्कअनुसारआक्रमण गरिएका संरचनाहरूमध्ये २० हजारभन्दा बढी राजधानी तेहरानमा रहेका छन् भने ६० हजारभन्दा बढी अन्य विभिन्न सहरहरूमा रहेका छन्। यस भीषण युद्धमा करिब १८ हजार ७९० व्यापारिक स्थल, २६६ स्वास्थ्य संस्था र ४९८ विद्यालयहरू निशानामा परेका छन्।

आक्रमणका कारण हालसम्म १२ जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ भने ९० भन्दा बढी घाइते भएका छन्। युद्धमा सयौँ सर्वसाधारणले ज्यान गुमाएका छन्, जसमा उल्लेख्य सङ्ख्यामा बालबालिका र २३१ जना महिला रहेका छन्। विभिन्न सञ्चारमाध्यमका अनुसार यस युद्धमा कुल मृतकको सङ्ख्या १ हजार ५०० नाघिसकेको अनुमान गरिएको छ।

गत फेब्रुअरी २८ देखि इजरायल र संयुक्त राज्य अमेरिकाले संयुक्त रूपमा तेहरानलगायत इरानका प्रमुख सहरहरूमा हवाई तथा स्थलगत आक्रमण सुरु गरेका थिए। उक्त आक्रमणमा इरानका पूर्व सर्वोच्च नेता अली खामेनेईसहित उच्च सैन्य अधिकारीहरू र सर्वसाधारणको मृत्यु भएको बताइएको छ।

यसको जवाफमा इरानले पनि इजरायल र मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै शक्तिशाली मिसाइल र ड्रोन आक्रमणहरू गरिरहेको छ। दुवै पक्षबीचको यो टक्करले विश्वव्यापी सुरक्षा र ऊर्जा आपूर्तिमा समेत ठुलो धक्का पुर्‍याएको विश्लेषकहरूले जनाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ