नेप्सेमा ५४ अङ्कको वृद्धि: साढे २३ अर्बको कारोबार हुँदा छ कम्पनीको सेयरमा सर्किट
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ८ आइतबार
772
Shares
काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार धितोपत्र बजारमा उच्च अङ्कको वृद्धि देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५४ दशमलव ५१ अङ्क अर्थात् १ दशमलव ८९ प्रतिशतले बढेर २ हजार ९३१ दशमलव ५५ को बिन्दुमा पुगेको छ। बजारमा आएको यो सुधारसँगै कारोबार रकमले पनि नयाँ उचाइ लिएको छ।
नेप्सेका अनुसार आज विभिन्न ३६४ कम्पनीका ६ करोड १४ लाख ७ हजार ७४ कित्ता सेयर २ लाख ४ हजार ९५५ पटक खरिदबिक्री भएका छन्। यस क्रममा कुल २३ अर्ब ५९ करोड ७७ लाख १२ हजार १८२ बराबरको सेयर कारोबार भएको छ, जसलाई बजारको निकै उत्साहजनक उपस्थितिको रूपमा लिइएको छ।
आजको कारोबारमा व्यापार समूहबाहेक अन्य सबै उपसूचकहरूमा हरियाली छाएको छ। व्यापार समूह शून्य दशमलव ११ प्रतिशतले घट्दा लघुवित्त समूहमा सबैभन्दा धेरै ४ दशमलव २१ प्रतिशतको वृद्धि देखिएको छ। त्यस्तै, होटल तथा पर्यटन समूह ३ दशमलव ०५, निर्जीवन बीमा २ दशमलव ७२, बैंकिङ २ दशमलव ४९ र विकास बैंक समूह २ दशमलव ४६ प्रतिशतले बढेका छन्। वित्त, जीवन बीमा र उत्पादन तथा प्रशोधन समूहमा पनि उल्लेख्य सुधार देखिएको छ।
बजारमा आज ६ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कर्पोरेट डेभलपमेन्ट बैंक, सलपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, अभियान लघुवित्त, सोलु हाइड्रोपावर र भुजुङ हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको हो। यता, एनआईसी एसिया ब्यालेन्स फन्डका लगानीकर्ताले भने सबैभन्दा धेरै ५ दशमलव ७१ प्रतिशतले गुमाएका छन्।
कारोबार रकम र सेयर सङ्ख्याका आधारमा आज कुमारी बैंक लिमिटेड अग्रस्थानमा रहेको छ। उक्त बैंकको ८५ करोड ९६ लाख १५ हजारभन्दा बढीको ३५ लाख ४६ हजार ८५३ कित्ता सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ।