काठमाडौँ । मध्यपूर्वमा बढ्दो सैन्य तनावको सिधा असर चितवनको पर्यटन क्षेत्रमा देखिएको छ। हवाई यात्रा महँगो र असुरक्षित भएपछि नेपाल भ्रमणको योजना बनाएका धेरै विदेशी पर्यटकले आफ्नो बुकिङ रद्द गरेका छन्।
विगतका वर्षहरूमा फेब्रुअरी, मार्च र अप्रिल महिनामा सौराहाका होटलहरू ८० प्रतिशतसम्म भरिने गरेका थिए। तर, यस वर्ष यो सङ्ख्या घटेर २० प्रतिशतमा सीमित भएको व्यवसायीहरूले बताए। हालै सम्पन्न निर्वाचनका कारण १५ दिन प्रभावित भएको पर्यटन क्षेत्रलाई त्यसलगत्तै सुरु भएको मध्यपूर्वको द्वन्द्वले थप धराशायी बनाएको हो।
क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डेका अनुसार मुख्य पर्यटकीय मौसममै ठूला ट्राभल एजेन्सीहरूले बुकिङ रद्द गरेका छन्। "आकाश असुरक्षित भएपछि र ट्रान्जिट विन्दुहरू बन्द भएपछि पर्यटकहरू आउन डराएका छन्," उनले भने। भारत, चीन र अष्ट्रेलिया बाहेकका तेस्रो मुलुकबाट आउने पर्यटकको सङ्ख्या ह्वात्तै घटेको उनले जानकारी दिए।
सङ्घका उपाध्यक्ष गुणराज थपलियाले हवाई भाडामा भएको अत्यधिक वृद्धि र द्वन्द्वका कारण सिर्जित महँगीले गर्दा नेपाली आन्तरिक पर्यटकसमेत घुम्न निस्कन छाडेको बताए। आफ्ना आफन्तहरू विदेशमा रहेकाले उनीहरूको चिन्ताका कारण पनि नेपालीहरूमा उत्साह नदेखिएको उनको भनाइ छ।
पर्यटन व्यवसायी सुमन घिमिरेका अनुसार विशेष गरी युरोपियन, बेलायती, अमेरिकी र जर्मन पर्यटकले यात्रा स्थगित गरेका छन्। वनवास रिसोर्टका महाप्रबन्धक प्रकाश न्यौपानेले मध्यपूर्वका देशहरूलाई ट्रान्जिट बनाएर आउने जहाजहरू रोकिँदा नेपालको हस्पिटालिटी क्षेत्रमा नराम्रो असर परेको बताए।
सौराहामा रहेका १४८ वटा होटलमा करिब सात हजार २०० पर्यटक अट्ने क्षमता छ, जहाँ प्रत्यक्ष र अप्रत्यक्ष गरी झन्डै १८ हजारभन्दा बढीले रोजगारी पाएका छन्। दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघ र थारू संस्कृतिका लागि प्रख्यात सौराहामा पर्यटक नआउँदा यतिबेला व्यवसायीहरू चिन्तित बनेका छन्।
द्वन्द्व तत्काल रोकिएमा अक्टोबर–नोभेम्बरको सिजनमा केही सुधार हुने आशा व्यवसायीहरूले राखेका छन्, तर यो वर्षको मुख्य सिजन भने युद्धको मारमा परेको छ।