रवि लामिछानेको रिट ‘हेर्दाहेर्दै’ मा, मङ्गलबार सुनुवाइ हुने
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ९ सोमबार
776
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिट निवेदनमा मङ्गलबार सुनुवाइ हुने भएको छ। सर्वोच्च अदालतमा आज सुनुवाइ नसकिएपछि उक्त निवेदनलाई ‘हेर्दाहेर्दै’ मा राखिएको हो।
न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा आज भएको बहस नसकिएकाले मङ्गलबारका लागि पेसी तोकिएको अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले बताए।
महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध अघिल्लो सरकारको पालामा लगाइएका सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधका मुद्दाहरू फिर्ता गर्ने निर्णय गरेकी थिइन्। उक्त निर्णय कानुनविपरीत भएको दाबी गर्दै युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्चमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए।
यसअघि चैत ५ गते न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको संशोधित निर्णयको सक्कल फाइल नै पेस गर्न आदेश दिएको थियो। त्यसभन्दा अघि न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले यस निवेदनलाई नियमित सुनुवाइमा लैजान आदेश दिएको थियो।