डेढ वर्षपछि बाढीपहिरोले क्षति पुर्याएको घरको पुनर्निर्माण गर्न अनुदान सिफारिस
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १० मंगलबार
545
Shares
काठमाडौं । काभ्रेपलाञ्चोक जिल्ला विपद् व्यवस्थापन समितिले २०८१ असोजको विनाशकारी बाढीपहिरोबाट प्रभावित भएकाहरूका लागि स्थायी आवास निर्माण प्रक्रिया अगाडि बढाएको छ। सोमबार बसेको समितिको बैठकले बाढीपहिरोले क्षति पुर्याएको डेढ वर्षपछि पहिलो चरणमा रोशी गाउँपालिकाका पीडितहरूको नामावली सिफारिस गर्ने निर्णय गरेको हो। यसअन्तर्गत रोशीका १९९ वटा घरको स्थायी पुनर्निर्माण र ४० वटा घरको प्रवलीकरण (रेट्रोफिटिङ) का लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सिफारिस गरिएको छ।
प्रमुख जिल्ला अधिकारी एवं समितिका संयोजक गोपालकुमार अधिकारीले रोशीबाट सिफारिस प्रक्रिया सुरु गरिएको र क्रमशः जिल्लाका अन्य प्रभावित स्थानीय तहहरूको पनि सिफारिस गरिने जानकारी दिए। सरकारको निर्णयअनुसार स्थायी आवास पुनर्निर्माणका लागि प्रतिपरिवार ४ लाख रुपैयाँ अनुदान उपलब्ध गराइनेछ।
उक्त रकममध्ये सङ्घीय सरकारले ५० प्रतिशत, प्रदेश सरकारले ३० प्रतिशत र स्थानीय तहले २० प्रतिशत हिस्सा व्यहोर्ने नीतिगत व्यवस्था गरिएको छ। यसअघि जिल्लाका १० स्थानीय तहका २ हजार ८९५ परिवारलाई अस्थायी आवासका लागि अनुदान वितरण गरिसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
गत सालको असोजमा आएको बाढीपहिरोले काभ्रे जिल्लामा ठूलो मानवीय र भौतिक क्षति पुर्याएको थियो, जसमा ८१ जनाले ज्यान गुमाएका थिए भने ६ जना अझै बेपत्ता छन्। रोशी गाउँपालिकामा मात्रै १२ जनाको मृत्यु भएको थियो भने ४८२ घर पूर्ण रूपमा र ८८३ घर आंशिक रूपमा क्षतिग्रस्त भएका थिए। बाढीले व्यक्तिगत आवासका साथै ६० वटा खानेपानी आयोजना, पक्की पुल, विद्यालय, स्वास्थ्य केन्द्र र औद्योगिक ग्राम समेत बगाएको थियो। गत चैतदेखि सुरु गरिएको विस्तृत क्षति आकलनपछि अहिले स्थायी आवास निर्माणको बाटो खुलेको हो।