arrow

सैन्य विमान दुर्घटनामा ६६ सैनिकको मृत्यु, उद्धार कार्य जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १० मंगलबार
plane-crash-colombo.jpg

काठमाडौँ। कोलम्बियाको दक्षिणी क्षेत्रमा सैनिक जवानहरू बोकेको एउटा सैन्य विमान उडान भर्ने क्रममा दुर्घटनाग्रस्त भएको छ ।

आइतबार भएको यस दु:खद् दुर्घटनामा ठूलो सङ्ख्यामा मानवीय क्षति भएको र धेरै व्यक्तिहरू घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

कोलम्बियाका रक्षामन्त्री पेड्रो ए सान्चेजका अनुसार ‘हर्कुलस’ नामको उक्त सैन्य विमान पुएर्टो लेगुइजामोबाट उडान भर्ने क्रममा दुर्घटनामा परेको हो ।

विमानले सैनिक जवानहरू ओसारपसार गरिरहेको थियो ।

रक्षामन्त्रीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सैन्य टोलीहरू घटनास्थलमा पुगिसकेको जानकारी दिएका छन् ।

दुर्घटनामा परेकाहरूको यकिन सङ्ख्याबारे फरक-फरक विवरणहरू बाहिर आएका छन् ।

कोलम्बियाली एयरोस्पेस फोर्सले सामाजिक सञ्जाल एक्समार्फत छ जना चालक दलका सदस्यहरूको मृत्यु भएको पुष्टि गरेको छ ।

यद्यपि, समाचार संस्था रोयटर्सले सैन्य स्रोतलाई उद्धृत गर्दै सोमबार साँझसम्म मृतकको सङ्ख्या ६६ पुगेको जनाएको छ ।

कोलम्बियाको ठूलो पत्रिका एल टिएम्पोले विमानमा कम्तीमा एक सय २० जना सवार रहेको उल्लेख गरेको छ ।

अहिले घटनास्थलमा तीव्र रूपमा उद्धार कार्य भइरहेको र घाइतेहरूलाई उपचारका लागि सैन्य अस्पताल लगिएको छ। घटनाको यकिन कारण अझै खुल्न सकेको छैन र अनुसन्धान जारी छ ।

गत फेब्रुअरीमा पनि बोलिभियाली वायुसेनाको हर्कुलस विमान दुर्घटना हुँदा दर्जनौँको मृत्यु भएको थियो ।

कोलम्बियाको यो घटनालाई सोही प्रकृतिको अर्को ठूलो सैन्य विमान दुर्घटनाका रूपमा हेरिएको छ ।

घटनाको विस्तृत विवरण आउन अझै बाँकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ