अन्तर्राष्ट्रिय 'एचई र्याङ्किङ' मा केयूको फड्को: ९५ देशका प्रतिस्पर्धी माझ नेपालको उत्कृष्ट उपस्थिति
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १० मंगलबार
688
Shares
काठमाडौँ। काठमाडौँ विश्वविद्यालय (केयू) ले अन्तर्राष्ट्रिय स्तरको शैक्षिक मूल्याङ्कनमा महत्वपूर्ण सफलता हासिल गरेको छ। अमेरिकास्थित एक संस्थाले सार्वजनिक गरेको ‘एचई उच्च शिक्षा र्याङ्किङ’ मा विश्वका ५०७ विश्वविद्यालयमध्ये काठमाडौँ विश्वविद्यालय १२२ औँ स्थानमा पर्न सफल भएको हो।
विश्वका ९५ देशका विश्वविद्यालयहरू सहभागी यस र्याङ्किङमा उच्च शिक्षाको प्रभाव मापन गर्न २५ मापदण्ड र १३६ वटा सूचकहरूको प्रयोग गरिएको थियो। यो मूल्याङ्कन विशेष गरी दक्षिण एसिया, दक्षिण अमेरिका र पूर्वी युरोपका उदीयमान विश्वविद्यालयहरूको कार्यसञ्चालन क्षमतामा केन्द्रित रहेको छ।
प्रतिवेदनका अनुसार काठमाडौँ विश्वविद्यालयले सुविधा तथा स्रोत व्यवस्थापन, शैक्षिक पारदर्शिता र भविष्यमुखी योजनाहरूमा राम्रो सम्भावना देखाएको छ। मूल्याङ्कनका लागि समावेशिता, दिगो विकास, उत्तरदायित्व, अनुसन्धान प्रणाली, क्याम्पस सुरक्षा, अन्तर्राष्ट्रियकरण र डिजिटल पहुँचलगायतका सूचकहरूलाई आधार मानिएको थियो।
यस उपलब्धिको बारेमा चर्चा गर्दै र्याङ्किङकी सचिव नूरा अब्दुलजलीलले विश्वविद्यालयलाई पठाएको इमेलमा यो सफलता नेतृत्व, प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूको सामूहिक प्रयासको परिणाम भएको उल्लेख गरेकी छन्। उनले यसले शैक्षिक उत्कृष्टता र नवप्रवर्तनप्रतिको प्रतिबद्धता झल्काएको समेत बताइन्।
विश्वविद्यालयको शैक्षिक उत्कृष्टता निर्देशनालयका प्रमुख प्रा. डा. हेमराज काफ्लेले यो प्रतिवेदनले संस्थागत सञ्चालनबारे महत्वपूर्ण जानकारी दिएको बताए। उनका अनुसार यसले आगामी दिनमा अन्य अन्तर्राष्ट्रिय र्याङ्किङहरूमा सहभागी हुन आवश्यक तथ्याङ्क सुदृढ गर्न र सुधारका क्षेत्रहरू पहिचान गर्न मद्दत पुर्याउने छ।