काभ्रे । काभ्रेको पाँचखालका किसानलाई अहिले आलु खन्न धमाधम छ । व्यापारी र उपभोक्ता आलु किन्न खेतबारीमै पुगिरहेका छन् । खेतबारीमै पुग्ने हो भने १२-१५ रुपैयाँ किलोले आलु पाइने गरेको छ । आलुले मूल्य नपाएपछि किसान चिन्तित छन् ।
आलुको मूल्य निकै खस्केकाले किसानको लागतसमेत उठ्न हम्मे–हम्मे भएको छ । आलुले किन भाउ पाएन भनेर किसानहरु पनि अनभिज्ञ छन् । लामो समयपछि आलुको भाउ यति धेरै घटेको उनीहरुको अनुभव छ ।
किसानहरूका अनुसार गत साल २५ रुपैयाँसम्म बिक्री भएको थियो किलोको । यसपालि १२ रुपैयाँसम्म झरेको छ । किसानहरू भन्छन्- लगानी उठ्दैन यसपालि । बिउ र खाजा-खेतालाको मात्र लगानी उठ्छ ।
सरकारले किसानलाई मर्का नपर्ने गरी न्यूनतम मूल्य तोक्नुपर्ने वा सरकारले नै किन्नुपर्ने किसानको भनाइ छ । उनीहरू भन्छन्- हामीले मूल्य पाएका छैनौँ । उपभोक्ताले महँगोमा किन्नुपर्छ। यो कुरामा बालेन सरकारले ध्यान देओस् ।
आलुमा मात्र होइन अरु कृषि उत्पादनको पनि यस्तै समस्या छ ।