इरान युद्धमा हुथी विद्रोहीहरू पनि सामेल, इरानले शनिबार बिहानै पाँच देशमा गर्यो आक्रमण
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १४ शनिबार
2.1k
Shares
तस्बिर : इरानी सेनाका अनुसार इरानले शुक्रबार इजरायलमा ड्रोन आक्रमण गरेको छ, जसमा तेल अभिभका प्रमुख स्थानहरूलाई लक्षित गरिएको छ।
काठमाडौँ । शनिबार अमेरिका-इजरायल र इरानबीचको युद्धको २९ दिन हो । युद्धको २८ दिनपछि हुथी विद्रोहीहरू युद्धमा सामेल भएका छन् । टाइम्स अफ इजरायलको एक रिपोर्ट अनुसार यमनमा इरान समर्थित हुथी विद्रोहीहरूले दक्षिणी इजरायली सहर बेरशेबा र वरपरका क्षेत्रहरूलाई लक्षित गर्दै ब्यालिस्टिक मिसाइल प्रहार गरेका छन् । जुन लगभग २००० किलोमिटर टाढा छ।
इजरायली सेनाका अनुसार मिसाइल प्रक्षेपण पत्ता लागेपछि हवाई रक्षा प्रणालीहरू सक्रिय पारिएको थियो र खतरा हावामै नष्ट गरिएको थियो । आक्रमणमा कुनै पनि घाइते भएको रिपोर्ट गरिएको छैन । यो हालको युद्धको क्रममा यमनबाट इजरायलमाथि गरिएको पहिलो आक्रमण मानिन्छ ।
रिपोर्टका अनुसार यमनका हुथी विद्रोहीहरूले इजरायलमाथि गरिएको क्षेप्यास्त्र आक्रमणको जिम्मेवारी लिएका छन् । हुथी समूहले आफ्नो उद्देश्य प्राप्त नभएसम्म आफ्नो अभियान जारी रहने बताएको छ।
यता इरानले शनिबार पाँच देशहरूमा आक्रमण गरेको छ । मध्य पूर्वमा युद्ध एक महिनादेखि चलिरहेको छ, तर खाडी देशहरूमा आक्रमणहरू अझै पनि जारी छन्। शनिबार बिहानसम्म विभिन्न देशहरूबाट आक्रमण र अवरोधका रिपोर्टहरू आएका छन् ।
यूएई: अबुधाबी र दुबईको बीचमा अवस्थित खलिफा आर्थिक क्षेत्र नजिकै अवरोध गरिएको ब्यालिस्टिक मिसाइलको भग्नावशेष खस्यो, जसले गर्दा तीन स्थानमा आगो लाग्यो । घटनामा छ जना घाइते भए ।
ओमान: सलालाह बन्दरगाहलाई ड्रोनले निशाना बनाएको थियो। एक विदेशी कामदार घाइते भए र एउटा क्रेन क्षतिग्रस्त भयो।
साउदी अरेबिया: रक्षा मन्त्रालयका अनुसार राजधानी रियादतर्फ प्रहार गरिएको ब्यालिस्टिक क्षेप्यास्त्र हावामै खसालिएको थियो।
बहराइन: इरानले लक्षित गरेको सुविधामा लागेको आगो नागरिक रक्षा विभागले निभायो ।
कुवेत: कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमणले राडार प्रणालीमा क्षति पुर्यायो। यसबाहेक, राष्ट्रिय गार्डले विगत २४ घण्टामा छ वटा ड्रोन खसाल्यो।