काम नगर्नेलाई कारबाहीको संकेत, कानून मन्त्रीले स्थापना गरिन् कार्यसम्पादन जाँच्ने विशेष डेस्क
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १७ मंगलबार
917
Shares
काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले मन्त्रालयका कामकारबाहीलाई छिटो, प्रभावकारी र पारदर्शी बनाउन 'फास्ट ट्र्याक डेस्क' स्थापना गर्ने निर्णय गरेकी छन्। मन्त्रालयभित्रका प्रक्रियागत ढिलासुस्ती अन्त्य गर्ने उद्देश्यले उनले यस्तो कदम चालेकी हुन्।
मन्त्री गौतमका अनुसार यो डेस्कले मन्त्रालयका विभिन्न महाशाखामा भइरहेका कामहरूको अवस्थाबारे नियमित अनुगमन गर्नेछ। कुन काम कुन चरणमा पुगेको छ र अन्य मन्त्रालयबाट आएका पत्रहरूको फछ्र्यौट प्रक्रिया तत्काल सुरु भयो वा भएन भन्ने कुरा यसै डेस्कमार्फत सुनिश्चित गरिने उनले बताइन्।
यसका साथै, अपूर्ण कागजात भएका वा मन्त्रालयको कार्यक्षेत्रभन्दा बाहिरका विषयहरूलाई ढिलाइ नगरी सम्बन्धित निकायमा फिर्ता गर्ने वा आवश्यक कागजात माग गर्ने प्रक्रियालाई पनि तीव्र बनाइने उनले जानकारी दिइन्। तोकिएको समयसीमाभित्र काम सम्पन्न नभएमा त्यसको कारण खोज्ने र नियमित समीक्षा गर्ने प्रणाली समेत विकास गरिने मन्त्री गौतमले बताइन्।