काठमाडौँ। साताको शुरूआती दिनहरूमा उच्च गिरावट व्यहोरेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज उल्लेखनीय सुधार देखिएको छ। आज नेप्से १९ दशमलव ७० अङ्कले बढेर दुई हजार ८५१ दशमलव ०९ विन्दुमा पुगेको हो।
आजको कारोबारमा ३३९ कम्पनीका दुई करोड ७९ लाखभन्दा बढी कित्ता शेयर एक लाख ३७ हजारभन्दा बढी पटक किनबेच हुँदा कुल ११ अर्ब ११ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। यसले बजारमा लगानीकर्ताको सक्रियता पुनः बढेको संकेत गरेको छ।
उपसूचकतर्फ हेर्दा अधिकांश समूह हरियो देखिएका छन्। बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत् र लगानी समूहमा सामान्यदेखि मध्यम वृद्धि देखिएको छ भने उत्पादन तथा प्रशोधन समूहमा सबैभन्दा उच्च १ दशमलव ९४ प्रतिशतले वृद्धि भएको छ। यद्यपि म्युचुअल फन्ड र अन्य समूहमा सामान्य गिरावट देखिएको छ।
आजको कारोबारमा केही कम्पनीमा सकारात्मक सर्किट लाग्नुले बजारमा अल्पकालीन उत्साह थपिएको देखिन्छ।
रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, रिजलाइन इनर्जी र होटल फरेस्ट इनका लगानीकर्ताले उच्च नाफा कमाएका छन्। विपरीत रूपमा सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य भने झण्डै ९ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा रिदी पावर कम्पनी अग्रस्थानमा रहँदा कुमारी बैंकको शेयर सर्वाधिक कारोबार भएको छ।