काठमाडौँ। प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमानको जन्मजयन्ती आज देशभर विभिन्न धार्मिक कार्यक्रमका साथ श्रद्धापूर्वक मनाइँदै छ। हनुमानको पूजाआराधना गर्नाले बल, बुद्धि र विद्या मिल्ने तथा सबै प्रकारका दुःख र सङ्कटबाट मुक्ति पाइने जनविश्वास रहिआएको छ।
यसै अवसरमा आज बिहानैदेखि काठमाडौँको हनुमानढोका, पशुपतिस्थित हनुमान मन्दिर, गोकर्णेश्वरको पञ्चमुखी हनुमानलगायत देशभरका हनुमान मन्दिरहरूमा भक्तजनको ठूलो भिड लागेको छ। हनुमानढोका दरबार क्षेत्रको नासलचोक नजिकै रहेको पञ्चमुखी हनुमान मन्दिरमा भने परम्पराअनुसार पुजारीले मात्र विशेष पूजाआराधना गरिरहेका छन्।
शास्त्रीय मान्यताअनुसार हनुमान शब्द 'हनु' धातुमा 'मतुप' प्रत्यय लागेर बनेको हो, जसको अर्थ वेगवान् र गतयुक्त शक्ति भन्ने हुन्छ। भगवान् रामको अनन्य भक्तका रूपमा चिनिने हनुमानलाई वायुपुत्र तथा शिवको एघारौँ रुद्र अवतारका रूपमा समेत पुजिन्छ।
रामायणभन्दा पूर्व नै हनुमानको अस्तित्व रहेको शास्त्रीय मत छ भने स्कन्द पुराणमा हनुमानभन्दा ठूलो र पराक्रमी प्राणी जगत्मा अरू कोही नभएको व्याख्या गरिएको छ। मानिसमा हुने भय र नकारात्मक शक्तिको प्रकोपबाट बचाउने 'सङ्कट मोचक'का रूपमा हनुमानलाई पुजिने भएकाले बच्चादेखि वृद्धसम्मले आज हनुमान चालिसाको पाठ गर्ने परम्परा छ।
हनुमानलाई जुनसुकै रूप धारण गर्न सक्ने र अणिमा, महिमा जस्ता आठ प्रकारका यौगिक शक्तिले सम्पन्न देवता मानिन्छ। पण्डित बालमुकुन्द देवकोटाका अनुसार पञ्चमुखी र अत्यन्त तेजस्वी हनुमानको ध्यान गर्नाले रोगव्याधि, प्राकृतिक बाधा र राक्षसी शक्तिको प्रकोपबाट समेत मुक्ति मिल्दछ। हनुमानको मूर्तिमा लगाइने सिन्दूरले हड्डी र मांसलाई सुसङ्गठित बनाउन भूमिका खेल्ने धार्मिक तथा आयुर्वेदिक विश्वास समेत रहेको छ।
आजको दिन भक्तजनहरूले पवित्र नदीमा स्नान गरी व्रत बस्ने तथा विभिन्न स्थानमा हनुमानको शोभायात्रा निकाल्ने कार्य भइरहेका छन्। सामान्यतया मङ्गलबार र शनिबार हनुमानको विशेष आराधना गरिने भए तापनि चैत्र शुक्ल पूर्णिमाको दिन मनाइने यो जयन्तीको विशेष धार्मिक महत्त्व रहेको छ।