इनिशाको शव बुझ्न परिवार सहमत, आजै दाहसंस्कार गरिंदै
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १९ बिहिबार
741
Shares
सुर्खेत। सुर्खेतकी १६ बर्षीया इनिशा विकको आज दाहसंस्कार गरिने भएको छ। गत फागुन २३ गते वीरेन्द्रनगरको सामुदायिक वनमा मृत भेटिएका इनिशा बिकको २७ दिनपछि दाहसंस्कार गर्न लागिएको हो ।
सामूहिक बलात्कारपछि हत्या भएको भन्दै परिवारले इनिशाको शव नबुझ्ने अडान लिएका थिए ।
घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरी अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि परिवारले शव बुझ्ने भएका हुन् । इनिशाको आजै भेरी नदीको सम्झिघाटमा दाहसंस्कार गरिने परिवारले जनाएका छन् ।
दुई साता लामो अनुसन्धानपछि प्रहरीले गत साता सरकारी वकील कार्यालयमा प्रतिवेदन बुझाएको थियो ।
आइतबार सरकारी वकीलको कार्यालयले सुर्खेत जिल्ला अदालतमा दायर गरेको अभियोग पत्रमा मंगलबार भएको थुकछेक बहसपछि घटनामा संलग्नलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
सुर्खेत जिल्ला अदालतका बाल इजलासका न्यायाधीश दीपक ढकालको इजलाशले आरोपित चारै जनालाई थुनामा राख्न आदेश दिएको थियो । अदालतको आदेशअनुसार उनीहरूलाई बालसुधार गृहमा पठाइएको छ ।
अदालतका सूचना अधिकारी उज्वल रावलका अनुसार घटनाको गम्भीरता र प्रारम्भिक प्रमाणका आधारमा अनुसन्धान पूरा नहुँदासम्म थुनामै राखेर मुद्दा अघि बढाउने आदेश गरिएको हो ।
सोमबारदेखि बाल इजलासमा सुनुवाई भइरहेको उक्त मुद्दामा मंगलबारको थुनछेक बहसपछि अदालतले यस्तो आदेश दिएको हो । इनिशाको मृत्युपछि वीरेन्द्रनगरमा दुवै पक्षबीच प्रदर्शन हुँदै आएका थिए ।