arrow

इन्धनको मूल्यमा प्रतिलिटर १५ रुपैयाँ वृद्धि, पेट्रोलको मूल्य दुई सय दुई पुग्यो

निगमलाई पेट्रोलमा प्रतिलिटर ३४ रुपैयाँ र डिजेलमा १२० रुपैयाँभन्दा बढी घाटा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २० शुक्रबार
petrol-pump.jpeg

काठमाडौ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार बढेपछि नेपाल आयल निगमले इन्धनको मूल्यमा वृद्धि गरेको छ। मध्यपूर्वमा जारी युद्धका कारण कच्चा तेलको भाउ उकालो लागेपछि निगमले चैत १९ गतेको निर्णयअनुसार आजैदेखि लागू हुने गरी मूल्य समायोजन गरेको हो।

निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँले मूल्य बढाएको छ। नयाँ मूल्यअनुसार काठमाडौं, पोखरा र दिपायल (तेस्रो वर्ग) मा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १८२ रुपैयाँ कायम गरिएको छ। अन्य क्षेत्रहरूमा पनि सोही अनुपातमा मूल्य बढाइएको निगमले जनाएको छ।

मूल्य वृद्धि गरे तापनि निगमले आफू अझै ठूलो घाटामा रहेको दाबी गरेको छ। भारतीय आयल कर्पोरेसन बाट प्राप्त नयाँ खरिद मूल्यका कारण स्वचालित मूल्य प्रणाली पूर्ण रूपमा लागू गर्न नसक्दा निगमलाई पेट्रोलमा प्रतिलिटर ३४ रुपैयाँ र डिजेलमा १२० रुपैयाँभन्दा बढी घाटा कायमै रहने देखिएको छ। यस्तै खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर ४०० रुपैयाँभन्दा बढी घाटा रहेको छ।

यो समायोजन नभएको भए निगमलाई पाक्षिक रूपमा १३ अर्ब रुपैयाँभन्दा बढी घाटा हुने अवस्था थियो, जुन अहिले घटेर करिब ११ अर्बमा झर्ने अनुमान गरिएको छ। निगमले आपूर्ति व्यवस्थापन सहज बनाउन र समयमै भुक्तानी गर्नुपर्ने दबाब रहेको उल्लेख गर्दै उपभोक्ताहरूलाई इन्धनको मितव्ययी प्रयोग गर्न विशेष आग्रह गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ