काठमाडौँ । म्यानमारको संघीय संसदले आगामी शुक्रबार मुलुकको नयाँ राष्ट्रपति चयन गर्ने घोषणा गरेको छ । राष्ट्रपतिका लागि प्रश्तावित तीनै जना उपराष्ट्रपतिहरूको योग्यता छानबिन प्रक्रिया पूरा भएपछि संसदले बिहीबार यस्तो जानकारी दिएको हो ।
राष्ट्रपतिका लागि मिन आङ ह्लाइङ, नान नि नि आये र उ न्यो सा गरी तीन जना उपराष्ट्रपतिहरू प्रतिष्पर्धामा छन् ।
यसअघि मंगलबार तल्लो सदन प्युिथु ह्लुट्टाका निर्वाचित प्रतिनिधिहरूले मिन आङ ह्लाइङलाई र माथिल्लो सदन अम्योथा ह्लुट्टाका प्रतिनिधिहरूले नान नि नि आयेलाई उपराष्ट्रपतिका रूपमा चयन गरेका थिए ।
सोही दिनपछि संघीय संसदका दुवै सदनका सैन्य प्रतिनिधिहरूको समूहले उ न्यो सालाई तेस्रो उपराष्ट्रपतिका रूपमा निर्वाचित गरेको थियो ।
संघीय संसदका सम्पूर्ण प्रतिनिधिहरू सम्मिलित प्रेसिडेन्सियल इलेक्टोरल कलेज (राष्ट्रपतीय निर्वाचन मण्डल) ले यिनै तीन उपराष्ट्रपतिहरूमध्येबाट एक जनालाई मुलुकको नयाँ राष्ट्रपतिका रूपमा निर्वाचित गर्नेछ ।