संघीय संसद्को दुवै सदनको बैठक आज: डोलप्रसादलाई सभामुख निर्वाचित गर्ने प्रस्ताव पेश गरिँदै
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २२ आइतबार
863
Shares
काठमाडौँ । संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको बैठक आज बस्दैछ। सिंहदरबारस्थित नवनिर्मित संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा बिहान ११:०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गर्ने मुख्य कार्यसूची रहेको छ।
अर्याल शुक्रबार नै यस पदका लागि निर्विरोध निर्वाचित भइसकेका छन्, जसको प्रस्तावकमा रास्वपा सभापति रवि लामिछाने र समर्थकमा सांसदहरू स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका छन्।
त्यसैगरी, राष्ट्रियसभाको बैठक अपराह्न १२:१५ बजे सिंहदरबारमै बस्ने तय भएको छ। बैठकमा सभाध्यक्षले विषयगत समितिका सदस्यहरूको नाम मनोनयन तथा हेरफेर गर्ने र अध्यक्ष वा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्ने कार्यक्रम छ।
संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय महिला आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची समेत रहेको छ। नयाँ भवनमा सञ्चालन हुन लागेको यो बैठकलाई संसदीय अभ्यासमा महत्वपूर्ण मानिएको छ।