इरानमा अहिलेसम्मकै सबैभन्दा लामो इन्टरनेट 'ब्ल्याकआउट'
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २३ सोमबार
1.9k
Shares
काठमाडौँ । इरानमा जारी युद्ध र आन्तरिक तनावका बीच इन्टरनेट अवरोधले नयाँ रेकर्ड कायम गरेको छ। इन्टरनेट अनुगमन तथा विश्लेषण गर्ने अन्तर्राष्ट्रिय संस्था 'नेटब्लक्स'का अनुसार फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमा आक्रमण गरेलगत्तै सुरु भएको यो अवरोध अहिलेसम्मकै 'सबैभन्दा लामो' राष्ट्रव्यापी ब्ल्याकआउट हो।
नेटब्लक्सले सामाजिक सञ्जाल एक्स (ट्वीट) मार्फत जानकारी दिए अनुसार इरानमा लगातार आठ सय ६४ घण्टा अर्थात् ३७ औं दिनसम्म पनि इन्टरनेट सेवा सुचारु हुन सकेको छैन। यो कुनै पनि देशमा अहिलेसम्म देखिएको सबैभन्दा लामो समयको राष्ट्रस्तरीय इन्टरनेट अवरोध हो। उत्तर कोरियामा विश्वव्यापी इन्टरनेट सञ्जाल नै नभएको अवस्थाबाहेक अन्य देशमा यति लामो समयसम्म पूर्ण रूपमा सञ्जाल विच्छेद भएको उदाहरण छैन।
इन्टरनेट नहुँदा इरानी नागरिकहरूले ठूलो सास्ती खेप्नुपरेको छ। तेहरान र इस्फाहान जस्ता सहरका बासिन्दाहरूले इन्टरनेट बिनाको जीवन 'अक्सिजन बिनाको' जस्तै भएको र आफूहरू निसास्सिएको महसुस गरिरहेको बताएका छन्। हाल इरानमा अत्यन्तै प्रतिबन्धित 'स्थानीय इन्टरनेट' (इन्ट्रानेट) ले मात्र काम गरिरहेको छ, जसबाट केवल घरेलु वेबसाइटहरू मात्र खोल्न सम्भव छ।
अन्तर्राष्ट्रिय समाचार र सामाजिक सञ्जाल (जस्तै इन्स्टाग्राम) चलाउन केही प्रयोगकर्ताले भर्चुअल प्राइभेट नेटवर्क (भिपिएन) प्रयोग गर्ने प्रयास गरे पनि सरकारले त्यस्ता प्रयोगकर्तालाई पक्राउ गर्ने वा जेल हाल्ने चेतावनीयुक्त सन्देशहरू पठाइरहेको छ। स्टारलिङ्क जस्ता उपग्रह-आधारित इन्टरनेट सेवाहरू पनि इरानमा प्रतिबन्धित छन् र यसको पहुँच अत्यन्तै सीमित व्यक्तिहरूसँग मात्र छ।
यसअघि जनवरीमा भएको सरकार विरोधी प्रदर्शनका क्रममा इरानमा १८ दिनसम्म इन्टरनेट अवरुद्ध गरिएको थियो। तर अहिलेको ३७ दिने अवरोधले विगतका सबै रेकर्ड तोडेको छ, जसले गर्दा इरान भित्रको वास्तविक अवस्थाबारे विश्व समुदायलाई जानकारी पाउन कठिन भइरहेको छ।