arrow

प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटः सुदूरपश्चिमको फाइनलमा सम्भावना बलियो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २९ आइतबार
odi-nep-sudur-police.jpg

काठमाडौँ । शीर्ष दुई स्थानमा रहन जित्नैपर्ने खेलमा सुदूरपश्चिम प्रदेशले सफलता निकाल्दै जारी प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ ।

जनकपुरमा आइतबार भएको खेलमा सुदूरपश्चिमले विभागीय टोली नेपाल पुलिस क्लबमाथि ५६ रनको जित निकाल्दै फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ । नारायण जोशीको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिम लिगको अन्तिम खेलमा जितसँगै लिगको दोस्रो स्थानमा उक्लियो । 

सुदूरपश्चिमले पुलिसलाई हराएसँगै शीर्ष स्थानको आर्मी दुई खेलअगावै फाइनलमा पुगेको छ । यो हारसँगै शीर्ष दुई स्थानमा रहेर फाइनल खेल्ने पुलिसको सम्भावना एक खेलअगावै समाप्त भएको छ । लिगको अन्तिम खेलमा मधेस प्रदेशसँग खेल्नेछ । यो खेलमा जितले पनि पुलिसलाई शिर्ष दुई स्थानमा पुग्न पर्याप्त हुने छैन । सात खेलबाट आर्मीको १३ अंकसहित शीर्ष स्थानमा छ ।

९ खेलबाट सुदूरपश्चिम १२ अंक जोड्दै दोस्रो स्थानमा र आठ खेलबाट पुलिसको ९ अंक छ । लिगमा दुई खेल खेल्ने बाँकी मधेशको मात्र फाइनलमा पुग्ने सम्भावना छ । सात खेलबाट ९ अंक जोड्दै मधेश चौथो स्थानमा छ । बाँकी दुई खेलमा जित निकाल्दा मधेश फाइनलमा पुग्नेछ । 

रामजानकी क्रिकेट मैदानमा सुदूरपश्चिमले एक सय ९१ रनको सामान्य लक्ष्य दियो । तर, खराब ब्याटिङ सामना गरेको पुलिसले त्यो लक्ष्य भेट्टाउन सकेन । पुलिस ३५.१ ओभरमा १३५ रनमै अलआउट भयो । शीर्ष क्रमका ब्याटर सस्तैमा आउट भएपछि पुलिस पराजित हुन पुग्यो । आठौं नम्बरका ब्याटर गुलसन झाले ५० रनको अर्धशतकीय इनिङ खेले । तर, त्यो जितका लागि पर्याप्त भएन ।

राष्ट्रिय टोलीका सदस्यको बाहुल्यता रहेको पुलिस पहिलोपल्ट प्रदेशका टोलीसँग पराजित हुन पुग्यो । कप्तान आरिफ शेख, दिलशाद अली र अमित श्रेष्ठले समान १९ रनमा आउट भए । लयमा रहेका ओपनर दिनेश खरेल र शंकर राना पनि समान १० रनमै पभेलियन फर्किए । अनुभवी ब्याटर कुशल भुर्तेलले पनि खाता नै खोल्न सकेनन् ।

९९ रन जोड्दा पुलिसले ८ विकेट गुमाइसकेको थियो । पुछारका ब्याटर गुलसनले इनिङ समाले पनि जित दिलाउन सकेनन् । उनले ६४ बलमा एक चौका र पाँच छक्का प्रहार गरे । सुदूरपश्चिमका कप्तान शेर मल्ल र हेमन्त धामीले समान तीन तथा नारायण जोशी, अशोक धामी र खडक बोहोराले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिम ४०.४ ओभरमा १९१ रनमा अलआउट भयो । तर, बलिङमा साथ पाएपछि सुदूरपश्चिमका लागि यो योगफल पर्याप्त भयो । सुदूरपश्चिमको पनि सुरुआत राम्रो हुन सकेन ।

१११ रनमा सुदूरपश्चिमका सात ब्याटर आउट भइसकेका थिए । तर, नारायण जोशीले ८२ रनको अर्धशतक बनाउँदै इनिङ समाले । उनले ८० बलमा सात चौका र ६ छक्का प्रहार गरे । अन्य ब्याटरले राम्रो ब्याटिङ गर्न सकेनन् । 

खडक बोहोरा २२, हेमन्त धामी २०, किरण ठगुन्ना १७ तथा अशोक धामी १८ रनमा आउट भए । पुलिसको बलिङमा दिनेश खरेलले चार तथा सागर ढकालको नाममा तीन विकेट रह्यो । कुशल भुर्तेलले दुई तथा गुलसन झाले एक विकेट लिए ।

अर्जुनको दोस्रो शतक
उत्कृष्ट लयमा रहेका ओपनर अर्जुन कुमालको कीर्तिमानी शतकमा गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा तेस्रो जित निकालेको छ ।

वीरगञ्जमा आइतबार भएको गण्डकीले लुम्बिनी प्रदेशमाथि आठ विकेटको फराकिलो जित निकाल्दै युवा ब्याटर अर्जुनले अर्को शतक पूरा गरे । जारी प्रतियोगितामा अर्जुनको यो दोस्रो शतक हो । यसअघि उनले कोशी प्रदेशविरुद्ध पनि शतक पूरा गरेका थिए । लुम्बिनीविरुद्ध पनि उनले शतक पूरा गरे । अर्जुन १०३ रनमा अविजित रहे । प्रधानमन्त्री कपको एकै संस्करणमा दुई शतक पूरा गर्ने उनी दोस्रो ब्याटर बने । यसअघि आर्मीका विनोद भण्डारीले पनि एकै संस्करणमा दुई वटा शतक बनाएका छन् । साथै सर्वाधिक रन बटुल्ने सूचीको शीर्ष स्थानमा रहेका अर्जुनले ४९८ रन जोडेका छन् । 

एकै संस्करणमा चार सय रन पूरा गर्ने उनी पहिलो ब्याटर बने । अब गण्डकीले अन्तिम खेल कर्णाली प्रदेशसँग खेल्नेछ । यो खेलमा २ रन जोडे अर्जुनले पाँच सय रनको आँकडा पनि भेटाउनेछन् । उनको उत्कृष्ट प्रदर्शन भए पनि गण्डकी भने यसअघि नै फाइनल पुग्ने सम्भावनाबाट बाहिरिसकेको थियो । हारपछि लुम्बिनीको पनि शीर्ष दुई स्थानमा पुग्ने सम्भावना सकिएको छ । नारायणी क्रिकेट मैदानमा गण्डकीले २०८ रनको मध्यम लक्ष्य दियो । तर, गण्डकीले ४४.१ ओभरमै मात्र दुई विकेट गुमाएर लक्ष्य पूरा गर्यो । अर्जुनले पहिलो विकेटका लागि सिबरिन श्रेष्ठसँग ९५ रन र दोस्रो विकेटका लागि मुस्कान थापासँग ५२ रनको साझेदारी गर्दै जित दिलाएका हुन् । अर्जुनले १३० बलमा १३ चौका र एक छक्का प्रहार गरे ।

सिबरिनले ७७ बलमा ४३ रन बनाए । दीपक डुम्रे २५ रनमा अविजित रहँदा मुस्कान २३ रनमा आउट भए । लुम्बिनीको बलिङमा लागि दिनेश बोहोरा र सन्तोष यादवले समान एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले ४५ ओभरमा २०७ रनको सामान्य योगफलमा नै अलआउट भयो । शीर्ष क्रमका ब्याटर सस्तैमा आउट भए ।

एक समय लुम्बिनी ६९÷६ को नाजुक अवस्थामा थियो । तर, तल्लो क्रमका ब्याटर सन्तोष यादव ८२ रन र सलाउद्दिन खानले ६० जोड्दै इनिङ समाले । सन्तोषले ७७ बलमा ९ चौका र १ छक्का प्रहार गरे । यी दुईबीच सातौं विकेटका लागि १२१ रनको बलियो साझेदारी बन्यो । 
सलाउद्दिनले ७७ बलमा ९ चौका प्रहार गरे । 

दिनेश बोहोरा २०, कप्तान देव खनाल १४ र दर्श सुनार १० रनमा नै आउट भए । गण्डकीको बलिङमा कप्तान विपिन खत्रीले चार, अपराजित पौडेलले तीन, सिबरिनले दुई तथा विश्व कार्कीले एक विकेट लिए । जितसँगै गण्डकी आठ खेलबाट ७ अंक जोडेर आठौं स्थानमा छ ।

जितसँगै गण्डकीले शीर्ष ६ स्थानमा रहेर आगामी संस्करणको जय ट्रफी खेल्ने सम्भावना कायमै राखेको छ । लिग चरणको अन्तिम खेलमा गण्डकीले कर्णाली प्रदेशसँग खेल्नेछ । जय ट्रफीमा छनोटको सम्भावना भने कायमै छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ