arrow

हर्मुज जलमार्ग अवरुद्ध गर्ने अधिकार कसैलाई छैन: राष्ट्रसङ्घ

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १ मंगलबार
hormuz-ai-made.jpg

काठमाडौँ । अमेरिका र इरानबीच जारी युद्धका कारण रणनीतिक महत्त्वको 'स्ट्रेट अफ हर्मुज' मा उत्पन्न अवरोधप्रति संयुक्त राष्ट्रसङ्घले गम्भीर आपत्ति जनाएको छ। संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय समुद्री सङ्गठन का महासचिव आर्सेनियो डोमिन्गुएजले कुनै पनि देशलाई अन्तर्राष्ट्रिय जलमार्गमा पानीजहाज रोक्ने कानुनी अधिकार नभएको स्पष्ट पारे। इरान विरुद्ध अमेरिका र इजरायलको आक्रमणसँगै युद्ध सुरु भएको छ हप्ता पुग्दासम्म हर्मुज क्षेत्रमा पहुँच अवरुद्ध गरिनु गलत हुने उनले बताए।

संयुक्त राज्य अमेरिकाले सोमबारदेखि हर्मुज र वरपरका इरानी बन्दरगाहहरूमा नाकाबन्दी सुरु गर्ने चेतावनी दिएको थियो। यद्यपि, फेब्रुअरी २८ मा युद्ध सुरु भएदेखि नै यो क्षेत्रमा इरानी सेनाले आफ्नो नियन्त्रण कायम राखेको छ। महासचिव डोमिन्गुएजले अन्तर्राष्ट्रिय कानुनले कुनै पनि देशलाई अन्तर्राष्ट्रिय जलमार्गको स्वतन्त्र प्रयोगलाई निषेध वा अवरुद्ध गर्ने अधिकार नदिएको कुरामा जोड दिए।

इरानी अधिकारीहरूले हाल आफ्ना सहयोगी मुलुकका जहाजहरूलाई मात्र आफ्नो तट नजिकको मार्ग प्रयोग गर्न अनुमति दिइरहेका छन् भने केही देशका जहाजहरूलाई प्रवेश शुल्क तिर्न दबाब दिइरहेका छन्। महासचिवले अन्तर्राष्ट्रिय जलसन्धिको यो बर्खिलाप समुद्रको अन्तर्राष्ट्रिय परम्परागत कानुन विरुद्ध रहेको र यसले भविष्यका लागि खतरनाक उदाहरण सिर्जना गर्ने चेतावनी दिए।

अमेरिकाले इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने प्रतिबद्धता व्यक्त गरे पनि यो कार्य सहज नभएको उनले उल्लेख गरे। मध्यपूर्व र विशेष गरी हर्मुज क्षेत्रमा देखिएको सङ्कट समाधान गर्न र जहाज सञ्चालनमा मद्दत पुर्‍याउन पहल सुरु भइसकेको उनले जानकारी दिए। अहिले पनि निकै कम जहाजहरू मात्र आवतजावत गर्न सफल भइरहेकाले अमेरिकाको अतिरिक्त नाकाबन्दीले स्थितिलाई खासै थप नबिगार्ने र यसको प्रभाव नगण्य हुने उनको विश्लेषण छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ