काठमाडौँ। काठमाडौँ महानगरपालिका-११ मा सञ्चालित बागमती स्वीट्स प्रालिको उत्पादन र बिक्री वितरणमा रोक लगाइएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र जिल्ला प्रशासन कार्यालय, काठमाडौँको संयुक्त अनुगमन टोलीले उद्योगमा गम्भीर लापरबाही भेटेपछि यस्तो कदम चालेको हो ।
आकस्मिक अनुगमनका क्रममा उक्त मिठाई उद्योगको सरसफाइ र गुणस्तरमा गम्भीर समस्याहरू फेला परेका छन् ।
विभागका अनुसार अनुगमनका क्रममा ड्राइफ्रुट्स प्याकिङका लागि तयारी अवस्थामा राखिएको बदाममा कीरा परेको भेटिएको छ ।
टोलीले कीरा लागेको करिब पाँच किलो बदाम तत्काल जफत गरी नष्ट गरेको छ ।
खाद्य पदार्थ उत्पादन गर्ने कारखानाको सरसफाइ अत्यन्तै न्यून र असन्तोषजनक पाइएको छ ।
त्यसैगरी, उद्योगमा कीट नियन्त्रणको व्यवस्थापन प्रभावकारी नभएको पाइएको छ ।
विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम बागमती स्वीट्सको कारखानाबाट हुने उत्पादन र बिक्री वितरणलाई अर्को आदेश नभएसम्मका लागि पूर्ण रूपमा रोक्का गर्ने आदेश दिएको छ ।
थप अनुसन्धानका लागि टोलीले कीरा परेको बदाम र ड्राइफ्रुट्स मिक्सको नमुना संकलन गरी प्रयोगशाला पठाएको छ ।
विभागकी प्रवक्ता डा. बालकुमारी शर्माका अनुसार उद्योगलाई उल्लेखित कैफियतहरू सुधार गरी सोको प्रमाणसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।
विभागले सार्वजनिक गरेका तस्बिरहरूमा उद्योगको भान्सा र भण्डारण कक्ष अत्यन्तै फोहर देखिएको छ भने कामदारहरूले न्यूनतम स्वास्थ्य मापदण्ड समेत पालना नगरेको देखिन्छ ।
उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने यस्ता उद्योगहरूमाथि निगरानी बढाइने विभागले जनाएको छ ।