इन्धनको मूल्य अहिलेसम्मकै उच्च, डिजेल र मट्टीतेलमा ३० रुपैयाँले बढ्यो
यति ठूलो मात्रामा मूल्य बढाउँदा समेत निगम अझै पनि अत्यधिक घाटामा रहेको दाबी
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३ बिहिबार
1k
Shares
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गर्दै डिजेल, मट्टीतेल र हवाई इन्धनको नयाँ मूल्य कायम गरेको छ। निगमले बुधबार मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ तथा हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरेको हो।
यस वृद्धिसँगै अब डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर २३७ रुपैयाँ पुगेको छ भने हवाई इन्धनको मूल्य प्रतिलिटर २५६ रुपैयाँ कायम भएको छ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको र इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार लागत महँगो परेपछि मूल्य समायोजन गर्नुपरेको निगमको दाबी छ। यति ठूलो मात्रामा मूल्य बढाउँदा समेत निगमले अझै पनि अत्यधिक घाटामा रहेको जनाएको छ।
नयाँ मूल्यअनुसार पनि पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ३२ पैसा, डिजेलमा ८७ रुपैयाँ ९९ पैसा, मट्टीतेलमा ३६ रुपैयाँ ७० पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ३३१ रुपैयाँ २५ पैसा घाटा रहेको निगमको विज्ञप्तिमा उल्लेख छ।
हालको अवस्थामा निगमले पाक्षिक रूपमा करिब ७ अर्ब ८१ करोड ६१ लाख रुपैयाँ बराबरको घाटा व्यहोरिरहेको छ। बढेको भाउ लागू भएपछि पाक्षिक ५ अर्ब ७५ करोड घाटा हुने पनि नियगमले जनाएको छ ।