१२ वटा संसदीय समितिका लागि सभापति पदका उम्मेदवारहरूको नाम टुङ्गो, मुख्य सचेतकमा कबिन्द्र बुर्लाकोटी चयन
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३ बिहिबार
721
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकबाट १२ वटा संसदीय समितिका लागि सभापति पदका उम्मेदवारहरूको नाम टुङ्गो लगाएको छ। दलले १० वटा एकल र २ वटा संयुक्त समितिको नेतृत्वका लागि आफ्ना सांसदहरूलाई जिम्मेवारी बाँडफाँट गरेको हो।
जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल, कानुन, न्याय तथा मानवअधिकार समितिमा समीक्षा बास्कोटा र अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सुम्नीमा उदासलाई उम्मेदवार बनाइएको छ।
त्यसैगरी अर्थ समितिमा कृष्णहरि बुढाथोकी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ओजश्वी शेरचन, र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोककुमार चौधरीलाई अघि सारिएको छ।
उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रहबर अन्सारी तथा महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी उम्मेदवार तोकिएका छन् भने सार्वजनिक लेखा समिति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका लागि छाडिएको छ।
संयुक्त समितितर्फ संसदीय सुनुवाइमा बोधनारायण श्रेष्ठ र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा गणेश कार्कीलाई जिम्मेवारी दिइएको छ।
सभापतिहरूको उम्मेदवारीसँगै रास्वपाले संसदीय दलको पदाधिकारीहरूमा पनि हेरफेर गर्दै मुख्य सचेतकमा कबिन्द्र बुर्लाकोटी तथा सचेतकहरूमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गरेको छ। यस नयाँ नियुक्ति र कार्यविभाजनसँगै रास्वपाले सदन र विषयगत समितिहरूमा आफ्नो भूमिकालाई थप संगठित, प्रभावकारी र नतिजामुखी बनाउने लक्ष्य राखेको छ।