arrow

रेसुंगाबाट सातामा चार हवाई उडान, भाडादरसमेत वृद्धि

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ५ शनिबार
resunga-airport.jpg

गुल्मी। गुल्मीको रेसुंगा विमानस्थलबाट शनिबारदेखि सातामा चार पटक हवाई उडान सञ्चालन हुने भएका छन् । नेपाल वायुसेवा निगमले काठमाडौँबाट गुल्मीका लागि आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान भर्ने तालिका सार्वजनिक गरेको हो ।

यसअघि आइतबार, मंगलबार र बिहीबार उडान सञ्चालन हुँदै आएको थियो। नेपाल वायुसेवा निगमका आन्तरिक उडानतर्फ रहेका ट्विनअटर जहाजको मर्मतसम्भार गरेसँगै उडान तालिका थप गरिएको रेसुंगाका स्टेशन  प्रमुख सुमन थापाले जानकारी दिए ।

उनका अनुसार निगमको उडान तालिका थप भएसँगै भाडादरसमेत वृद्धि भएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै रेसुंगा-काठमाडाैंको हवाई उडानको भाडादरमा वृद्धि भएको स्टेशन प्रमुख थापाले बताए ।

नयाँ लागू गरिएको भाडादर अनुसार काठमाडाैँबाट रेसुंगाका लागि १० हजार ९०२ र रेसुंगाबाट काठमाडाैँका लागि १० हजार ७०२ निर्धारण गरिएको उनले जानकारी दिए ।

निगमले यसअघि काठमाडाैँबाट रेसुंगाका लागि सात हजार ५०० र गुल्मीबाट काठमाडाैँका लागि सात हजार ३०० भाडादर निर्धारण गरेको थियो ।

विगतमा यात्रुहरूको अत्यधिक घुइँचो हुने गरेको रेसुंगा विमानस्थलमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै भाडादरमा तीन हजार ४०२ मूल्य वृद्धि गरिएको स्टेसन प्रमुख थापाले जानकारी दिए ।

उनका अनुसार निगमले आन्तरिक उडानतर्फ ट्विनअटर जहाजले सेवा दिइरहेको छ । वर्षाको समय र प्रतिकूल मौसमका कारणबाहेक पछिल्लो पाँच महिनादेखि गुल्मीको रेसुंगा विमानस्थलमा नियमित रूपमा हवाई सेवा सञ्चालन हुँदै आएको छ ।

नेपाल वायुसेवा निगमद्वारा १८ सिट क्षमताको ट्विनअटर जहाजबाट काठमाडाैँ-रेसुंगा सेवा सञ्चालन हुँदै आएको छ। काठमाडाैँबाट आइतबार बिहान ८ः०५ बजे र रेसुंगाबाट बिहान ९ः०५ बजे र मंगलबार, बिहीबार र शनिबार काठमाडाैँबाट बिहान ६ः१५ बजे र रेसुंगा विमानस्थलबाट काठमाडौँका लागि बिहान ७ः१५ बजे उडान हुने स्टेसन प्रमुख थापाले जानकारी दिए ।

दिउँसोको समयमा हावाको चाप बढी हुने भएकाले प्राविधिक दृष्टिकोणले बिहानको समयमा मात्र उडान भर्ने गरिएको उनको भनाइ छ । गुल्मीमा हवाई उडान शुरू भएसँगै जिल्लामा आउने आन्तरिक एवं बाह्य पर्यटकको संख्यामा पनि वृद्धि हुँदै गएको छ ।

करिब १६ देखि १८ घण्टाको लामो स्थलमार्गबाट यात्रा गरेर राजधानी पुग्नुपर्ने बाध्यता हटेको यात्रुहरू बताउँछन् । सेवा सुरु भएपछि हवाईमार्गबाट ४५ देखि ५० मिनेटमा गुल्मीबाट राजधानी आवतजावत गर्न सकिन्छ। गुल्मीमा नेपाल वायुसेवा निगमले विसं २०८० वैशाख २९ गतेदेखि व्यावसायिक रूपमा हवाई उडान शुरू गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ