काठमाडौँ । इरानका सर्वोच्च नेता मोजतबा खामेनीले इरानी नौसेना अमेरिका र इजरायलमाथि ‘नयाँ तीतो हार’ चखाउन तयार रहेको बताए। शनिबार अप्रिल १८ मा आयोजित इरानी सेना दिवसका अवसरमा एक सन्देश जारी गर्दै उनले ‘शत्रुहरू’ विरुद्धको लडाइँमा इरानी सेनाले देखाएको साहसको प्रशंसा गरे।
खामेनीले हालैको ४० दिने युद्धका क्रममा इरानी सेनाले अन्य सशस्त्र बलसँग मिलेर देशको सफल रक्षा गरेको र अमेरिका तथा इजरायलको कमजोरी एवं अपमानलाई विश्वसामु उजागर गरिदिएको दाबी गरे। सेनाका ड्रोनहरूले अमेरिकी र इजरायली लक्ष्यमा प्रभावकारी प्रहार गरिसकेको उल्लेख गर्दै उनले अब बहादुर नौसेना दुश्मनलाई अर्को पराजयको स्वाद दिन तम्तयार रहेको बताए।
गत फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले तेहरानसहित विभिन्न इरानी सहरहरूमा संयुक्त आक्रमण गरेका थिए, जसमा तत्कालीन सर्वोच्च नेता अली खामेनी, वरिष्ठ सैन्य कमान्डर र कैयौँ नागरिकको मृत्यु भएको थियो। त्यसको बदलामा इरानले मध्यपूर्वमा रहेका इजरायली र अमेरिकी सम्पत्तिलाई लक्षित गरी मिसाइल र ड्रोन आक्रमण गरेको थियो।
हाल इरानले स्ट्रेट अफ हर्मुजमा आफ्नो नियन्त्रण कायम राख्दै इजरायल र अमेरिकासँग सम्बन्धित जहाजहरूलाई सुरक्षित मार्ग प्रयोग गर्नबाट रोक लगाउँदै आएको छ।
अप्रिल ८ मा दुई हप्ताका लागि युद्धविराम घोषणा भएपछि पाकिस्तानको राजधानी इस्लामावादमा इरानी र अमेरिकी प्रतिनिधिहरूबीच शान्ति वार्ता सुरु भएको थियो। सीएनएनले अज्ञात इरानी स्रोतलाई उद्धृत गर्दै सोमबार पाकिस्तानमा वार्ताको नयाँ चरण सुरु हुने उल्लेख गरे पनि इरानका उपविदेशमन्त्री सइद खतिबजादेहले भने दोस्रो चरणको वार्ताका लागि अझै कुनै निश्चित मिति तय भइनसकेको जानकारी दिए।
टर्किएमा जारी अन्ताल्या कूटनीति फोरमका क्रममा पत्रकारहरूसँग बोल्दै उनले अमेरिकासँगको वार्तामा केही प्रगति भए पनि अवरोधहरू अझै बाँकी रहेको बताए। इरानले अन्तर्राष्ट्रिय कानुनभन्दा बाहिरका कुनै पनि विशेष सर्त स्वीकार नगर्ने र निश्चित ढाँचाभित्र रहेर मात्र आफ्नो दायित्व पूरा गर्ने उनले स्पष्ट पारे।