arrow

हिज्बुल्लाहको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ६ आइतबार
missile-attack-iran-getty-images.jpg

काठमाडौँ। हिज्बुल्लाहका प्रमुख नइम कासेमले इजरायलसँग जारी १० दिने युद्धविराम दुवै पक्षले पूर्ण रूपमा पालना नगरेसम्म टिकाउ हुन नसक्ने बताएका छन्। युद्धविरामलाई प्रभावकारी बनाउन लेबनानविरुद्धका हवाई, स्थल र समुद्री सबै प्रकारका आक्रमण पूर्ण रूपमा रोकिनुपर्ने र लेबनानी भूमिबाट इजरायली सेना फिर्ता हुनुपर्ने उनले अडान राखेका छन्।

कासेमले आगामी चरणमा बन्दीहरूको रिहाइ र विस्थापित नागरिकलाई घर फर्काउने प्रक्रिया सुरु गरिनुपर्ने उल्लेख गर्दै त्यसपछि अरब राष्ट्रहरूको सहयोगमा पुनर्निर्माण अघि बढाउनुपर्नेमा जोड दिएका छन्। उनले युद्धविराम एकतर्फी हुन नसक्ने र उल्लंघन भएमा प्रतिरोधी समूहले कडा जवाफ दिने चेतावनी दिँदै लेबनान सरकारसँग राष्ट्रिय सार्वभौमिकता सुदृढ गर्न सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

यसैबीच इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले तनावका बीच स्ट्रेट अफ हर्मुज अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेको छ। अमेरिका र इजरायलले युद्धविराम उल्लंघन गरेको र इरानी जहाज एवं बन्दरगाहमाथिको नाकाबन्दी नहटाएको आरोप लगाउँदै इरानले यस्तो कठोर निर्णय लिएको हो।

आईआरजीसीले उक्त जलक्षेत्रमा प्रवेश गर्ने जहाजहरूलाई ‘शत्रुसँग सहकार्य’ गरेको ठहर गरी कारबाही गर्ने चेतावनी दिएको छ। यसअघि इरानले निश्चित शुल्क तिर्ने जहाजलाई मात्र प्राथमिकता दिने बताए पनि अहिले पूर्ण नाकाबन्दीको बाटो रोजेको छ। उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको यस्तो कदमले अमेरिकामाथि कुनै दबाब सिर्जना गर्न नसक्ने भन्दै चेतावनी दिएपछि क्षेत्रीय सुरक्षा र विश्वव्यापी तेल आपूर्तिमा गम्भीर संकट देखिने सङ्केत मिलेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ