कूटनीति राष्ट्रिय हितका लागि मात्र, वार्तामा सहभागी हुने निर्णय अझै अनिश्चित: इरान
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १० बिहिबार
789
Shares
काठमाडौँ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले कूटनीतिलाई राष्ट्रिय हित रक्षाको उपकरण भएको उल्लेख गर्दै इरानको हितसँग मेल खाएको अवस्थामा मात्र यसको अनुसरण गरिने स्पष्ट पारे। बुधबार आयोजित कार्यक्रममा बोल्दै उनले मध्यस्थताका लागि पाकिस्तानलाई धन्यवाद दिए तर इरानले गरेका पछिल्ला सैन्य गतिविधिहरू अमेरिका र इजरायली आक्रमणको सामना गर्न आत्मरक्षाका लागि चालिएको कदम भएको दाबी गरे।
बघाईले इरानले आफ्नो राष्ट्रिय हित र सुरक्षाका लागि आवश्यक कदम चाल्दै युद्धक्षेत्र र राजनीतिक घटनाक्रमलाई सूक्ष्म रूपमा नियालिरहेको बताए। इरानले आफ्नो वैधानिक अधिकारको रक्षा गर्ने, आक्रमणका लागि कानुनी जवाफदेही बनाउने र युद्धमा भएको क्षतिको क्षतिपूर्तिको माग गर्ने अडान प्रवक्ताले दोहोर्याएका छन्।
फार्स समाचार एजेन्सीका अनुसार प्रवक्ता बघाईले इरानी व्यापारिक जहाजहरूमाथि भएको आक्रमण र तिनलाई जफत गर्ने कार्यले कूटनीतिमा संलग्न सभ्य राष्ट्रको व्यवहारलाई नझल्काउने टिप्पणी गरे। यस्ता गतिविधिले वार्ताको वातावरणमा नकारात्मक प्रभाव पार्ने उनको संकेत थियो।
पाकिस्तानले तेहरान र वासिङ्टनबीच अप्रत्यक्ष वार्ताका लागि मध्यस्थता गरिरहेको छ, जसको पहिलो चरण अप्रिल ११–१२ मा इस्लामावादमा सम्पन्न भएको थियो। यद्यपि, बघाईले दोस्रो चरणको वार्तामा भाग लिने बारे अझै आधिकारिक घोषणा नभएको र इस्लामावाद जाने निर्णय राष्ट्रिय हितको आधारमा मात्र लिइने बताए।
यसैबीच, इरानको तस्निम न्यूज एजेन्सीले भने अमेरिकासँगको दोस्रो चरणको वार्तामा सहभागी हुने तेहरानको निर्णय 'निश्चित' भइसकेको जनाएको छ। पछिल्लो समय ४० दिनको लडाइँपछि अप्रिल ८ बाट युद्धविराम लागू भएको छ भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसको अवधि थप गर्ने बताएका छन्।